logo-img

प्रतिनिधिसभा बैठक : शून्य समयमा कसले के भने ?
फाइल तस्बिर

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताए ।



उनले विगतमा प्रधानमन्त्रीको भ्रमणमा पनि नाका सञ्चालन हुने भनिएकामा हालसम्म के कारणले हुन नसकेको भन्ने  विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पाल्पाको रानी महलको संरक्षण गर्न माग गरे । एमाले सांसद तारा लामा तामाङले उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरे ।  

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्भर डाउन भई सेवा अवरुद्ध हुनु दुर्भाग्य भएकाले यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । कांग्रेस सांसद बद्री पाण्डेले पहिरोबाट बाजुराबासीलाई प्रभावाति गराएको र मार्तडीलगायतका क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका विषयमा सरकारको ध्यानाकर्षण गराए ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बागलुङको गोलकोटबासीलाई सदरमुकाम पुगेर सेवा लिन गाह्रो भएकाले त्यहाँ प्रशासनिक कार्यालय स्थापना गर्न माग गरे ।  

अर्का सांसद दीपक गिरीले देश शैक्षिक संकटकालको अवस्थामा रहेको बताए । उनले दश वर्षअघि कक्षा १ मा साढे ९ लाख विद्यार्थी भर्ना भएपनि अहिले ५ लाखले मात्रै एसइई परीक्षा दिइरहेका भन्दै बाँकी विद्यार्थी कता गए भन्दै प्रश्न गरे ।   



प्रतिनिधि सभा सदस्य नारायणी शर्माले देशमा ‘ए’ लेभलको अध्ययन हुने कलेज खोल्नुपर्ने बताइन् । उनले ‘ए’ लेभलका कलेज खोलेर विदेशिने विद्यार्थीलाई नेपालमै रोक्नुपर्ने बताइन् । सांसद शर्माले राज्यका सबै तहमा खुला प्रतिस्पर्धा हुनसके विद्यार्थीले आफ्नो शिक्षाको सदुपयोग गर्नसक्ने पनि बताइन् ।  

अर्की प्रतिनिधि सभा सदस्य निशा डाँगीले पेट्रोल र डिजेल सवारीलाई विद्युतीय वा वैकल्पिक इन्धनबाट चल्ने सवारीसाधनमा रूपान्तरण गर्न दिनेगरी बनेको त्यो व्यवस्थाको कार्यान्वयन हुन नसकेको बताइन् । उनले यसका लागि आवश्यक मापदण्ड, कार्यविधि र स्पष्ट कानुन छिट्टै ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।    



अर्की प्रतिनिधि सभा सदस्य विन्ध्यवासिनी कङ्साकारले अन्तर्राष्ट्रिय विमानस्थल स्थापना भएका स्थानमा जलन अस्पताल खोल्न सरकारको ध्यानाकर्षण गराइन् । उनले विमानस्थलमा आगलागी भएमा मानवीय क्षति हुनसक्ने कुरामा सचेत हुनुपर्ने बताइन् ।  

शून्य समयमा सांसद धवलशमशेर जबरा, वासुदेव घिमिरे, तेजुलाल चौधरी, दामोदर पौडेल वैरागी, दुर्गा राई, प्रदीप यादव, प्रमु हजारा, बिनिता कठायत, ध्रुवबहादुर प्रधान, नागिना यादव, निर्मला कोइराला, नारायणप्रसाद आचार्य, निशा डाँगी, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम,  प्रतीक्षा मुखिया, दिक्पालकुमारी शाही, दीपा शर्मा, डा. तोसिमा कार्कीलगायतले पनि समसामयिक विषय उठान गरेका थिए । 

  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १३:१०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया