वीरमा बिरामीको बिचल्लीः ‘अपरेसनका लागि भोकै बसेँ, ड्रेस फेरेँ, डाक्टर आएनन्’

काठमाडौं– सरकारी चिकित्सहरुको आन्दोलन गरेका कारण नेपाल भरका सरकारी अस्पतालमा बिरामीहरुले समस्या पाएको आज छैटौँ दिन भइसक्यो । 

चिकित्सकहरुको हड्तालको पाँचौ दिन सोमबार वीर अस्पताल पुग्दा अस्पताल बाहिर मानिसहरुको लाइन लामो थियो । कतिपय बिरामी अस्पतालको बेडमा चिकित्सकहरुलाई कुरिरहेका थिए । 

तीनैमध्ये एक हुन्, साँखुका लाहुरे भन्जान (५६) । ह्विलचेयरमा बसेका भन्जान वीर अस्पतालमा भर्ना भएको चार दिन भइसक्यो । तर, उनको अझै उपचार भएको छैन, कहिले हुने हो भन्ने पनि टुङ्गो छैन । कुरुवा बसेकी उनकी बहिनी चिन्तित छिन् । लाहुरे त बोल्न पनि सक्दैनन् । उनकी बहिनीले भनिन्, ‘डाक्टर आउँछु त भन्नु भएको थियो तर आउनु भएको छैन, कुर्दाकुर्दै दिन कटिसक्यो । उता, घरमा बच्चाहरु एक्लै छन्, यता दाइको यो अवस्था छ । के गर्नु र नगर्नु भन्ने दोसाँधमा पर्न थालेँ म ।’

लाहुरेजस्तै अर्का वीरमा १५ दिन देखि राम्रो उपचार नपाएर थलिएका छन्, मनिराज यादव । उनको मिर्गौलाको अपरेसन भएको थियो, तर त्यसपछि केही भइरहेको छैन । चिकित्सकहरु उनलाई हेर्न आएका छैनन् । त्यसैले उनका भाइ कृष्ण यादव चिन्तित छन् । 

कृष्णले भने, ‘दिन बित्दै गइरहेको छ, चिकित्सहरु आउँदा पनि ध्यान दिँदैनन्, अझै केही दिन लाग्छ भन्छन् । त्यो केही दिनमा तलमाथि भयो भने के गर्ने ?’

२० गतेदेखि वीर अस्पतालमा भर्ना भएर बसेका छन् गोपाल आले मगर । उनलाई फोक्सोको समस्या छ । उनले पनि केही दिनयता अस्पतालमा आफ्नो उपचार गर्ने चिकित्सकहरुलाई राम्रोसँग सोध्न पाएका छैनन्, भेट्न पाएका छैनन् । ‘कहिले छिटो उपचार होला भन्ने कुरेर बसिरहेका छौँ,’ उनले भने । 



हेटौडा भिमफेदीका संजोग प्रधान दुर्घटनामा पर्दा कम्मरको हड्डी भाँचिएको छ । उनको दुर्घटना भएको एक महिना भइसक्यो । तर, अपरेसन हुने नहुने अन्योलमा छन् प्रधान । ‘अपरेसन हुने पक्का भइसकेको थियो,’ उनले भने, ‘अस्ति शुक्रबार अपरेसन हुने कुरा थियो तर अब कहिले भन्ने नै टुङ्गो छैन । चिकित्सकहरुले आजभोलि अपरेसनको मिति दुईचार दिन सारिरहेका छन् ।’ 

तर, बिहिबार मात्र चिकित्सकहरु आएर उनलाई भने– अब अपरेसन गर्नु पर्दैन होला । 



शुक्रबार अपरेसन गर्ने भनेर अघिल्लो साँझ देखि भोकै बसेका थिए, प्रधान । ‘सबै तयारी भएको थियो,’ प्रधानले भने, ‘आज आएर यत्तिकै ठीक हुन्छ होला भन्न पो थालेका छन् । आन्दोलनले गर्दा मेरो अपरेसन हुनु पर्ने पनि नहोला कि भन्ने चिन्ता पो भयो ।’

डाक्टरहरुको आन्दोलनले गर्दा आफूहरुलाई एकदमै गाह्रो भएको पनि बताउँछन् उनी । उनलाई यो भन्दा पहिले पहिले डाक्टरले अपरेशनका लागि तीन चोटी डे«स नै फेर्न लगाए तर जहिले अपरेशन क्यान्सिल भयो । ‘अपरेशन गर्नका लागि डाक्रटहरुले तीन चोटी डे«स लगाउन भनिसके तर अपरेशन फेरी क्यान्सिल हुन्छ,’ उनको गुनासो छ, ‘सुरुमा अपरेशन गर्ने भनिएको थियो तर अहिले गर्नुपर्दैन भन्ने कुरा किन आइरहेको छ ?’

दुई वर्ष अगाडि दुर्घटनामा परेकी थिइन्, रीता चौधरी । उनी रौतहटकी हुन् । उनको हातमा स्टिल हाली उपचार गरिएको थियो । समस्या फेरी बल्झिएपछि उनी वीर अस्पतालमा भर्ना भएको १६ दिन भयो । 

तर, जतिपटक उनको अपरेसन हुन्छ भनिए पनि अहिलेसम्म हुन सकेको छैन । उनले भनिन्, ‘अस्ति बुधबार अपरेसन हुन्छ भने त्यो पनि भएन, त्यसपछि हिजो आइतबार अपरेसन हुन्छ भनेका थिए तर भएन ।’

उनको आँखा भरिए, ‘ऋण खोजेर ल्याएको सबै पैसा सकिसक्यो । डाक्टर त आउँछन् तर केही वास्ता गर्दैनन् । कहिले यो आन्दोलन सकिएला र उपचार होला भन्ने कुरेर बस्नु परेको छ,’ उनले भनिन्, ‘अब यत्तिकै घर जाउँ भने पनि फेरि समस्या बल्झिएला कि भन्ने डर !’ 

उनीहरुजस्ता दजैनौँ व्यक्ति अहिले बिचल्लीमा परेका छन् । तर, यता सरकारी चिकित्सक आन्दोलनमा छन् । सरकारले चिकित्सकहरुको आन्दोलनलाई खासै ध्यान दिइसकेको छैन ।


  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार १०:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया