मस्काे– विश्वभर स्वास्थ्यका दृष्टिकोणले योग उपयुक्त मानिन्छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिन्छ । २१ जुनलाई विश्व योग दिवस पनि मनाइन्छ ।
तर रसियाकी सिनेटर इलिना मिजुलिनाले योगले समलिंगी हुने खतरा बढाउने बताएकी छन् । रुढिवादी सांसद भनेर चिनिने मिजुलिनाले रसियन जेलमा कैदीहरुलाई योग गराउँदा समलैंगिक हुन सक्ने र उनीहरुमा झगडालु प्रवृत्ति बढ्न सक्ने बताएकी हुन् ।
मस्कोव्स्की कम्सोमोलेट्स समाचारका अनुसार मस्कोका केही जेलमा गएको वर्षदेखि योग कक्षा सञ्चालन भएका छन् । यसले धेरै सकारात्मक परिणाम ल्याएको छ । तर सांसद इलिनाले योग कक्षाको विरुद्ध प्रोसिक्युटर जनरलको अफिसमा उजुरी गरेकी छन् ।
इलिनाको उजुरीपछि योग प्रशिक्षक र विशेषज्ञको राय पनि लिइएको छ । इतिहासकार एवं अर्थोडक्स थियोलोजिस्ट अलेक्जेन्ड द्वोर्किन योग गरेर कोही पनि समलिंगी नहुने बताउँछन् ।
इलिनाले एक विशेषज्ञको रायको हवाला दिँदै योग व्यायामले कैदीमा यौनेच्छाको अनियन्त्रित प्रवाह हुनाले परिणामस्वरुप समलैंगिक सम्बन्धको विकास हुन सक्ने भएकाले यसलाई रोक्नु पर्ने बताएकी छन् ।
योग कक्षा चलाउने संस्था एफएसआइएनका उपप्रमुख भ्यालेरी मेक्सिमेको भन्छन्– ‘योग गर्ने व्यक्तिले शारीरिक पीडाको सामना गर्नुपर्दैन् । कैदीको मानसिक अवस्थामा सुधार ल्याउन कक्षा सञ्चालन गरिएको हो । अहिले यो कक्षा पाइलट प्रोजेक्टको रुपमा चलाइएको छ । छिटै अन्य जेलमा पनि सञ्चालन गरिनेछ ।’
इलिना रुसी राजनीतिकी एक विवादास्पद राजनीतिज्ञ हुन् । उनी निकै रुढिवादी र प्रगतिशिल योजनाको विरोध गर्छिन् । उनले गर्भपतनको अधिकार पनि दिन नहुने र सम्बन्धविच्छेद गर्नेलाई कर लगाउनुपर्ने तर्क गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।