गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई आज जिम्मेवारी तोकेका हुन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।
बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राखेका छन् ।
गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।