logo-img

‘सरकारले कागजी निर्देशन मात्र नभइ प्रभावकारी सेवा पनि दिन सक्नुपर्‍यो’

लोकतन्त्र भनेकै विधिको शासन हो । हामीले सामयिक र असल कानुन बनाएर सुशासन दिन सक्नुपर्छ । सांसदको मुख्य काम विधि निर्माण नै हो, त्यसमा हामी लागिरहेका छौँ । पछिल्ला अधिवेशनमा पर्याप्त विधेयक पारित हुन सकेन । सरकारले विधेयक दर्ता गरेपछि मात्रै सांसदले त्यसमा छलफल गर्ने भएकाले हामी सांसदले भनेर मात्रै पनि हुँदैन । विधेयक नै दर्ता भएन भने सांसदले मात्रै कानुन बनाउन सक्दैन । 

अघिल्लो गठबन्धनका मन्त्रीहरूले विधि निर्माणमा पर्याप्त चासो दिन सकेका थिएनन् ।  अहिले नयाँ मन्त्रीहरू आउनुभएको छ । उहाँहरूले विधि निर्माण ध्यान दिनुपर्छ ।  विधि असल र समसामयिक हुनुपर्छ भन्नेमा सम्बन्धित मन्त्रीहरू बढी जिम्मेवार हुनुपर्छ । सदनमा आएका विधेयकलाई राम्रोसँग छलफल गरेर छिटो पारित गराउनमा सम्बन्धित संसदीय समितिका सभापतिको पनि भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ । 

विगतमा कतिपय मन्त्रीहरू समितिको छलफलमा नआउने, आएर पनि विधेयकका बारेमा स्वामित्व लिएर यो किन आवश्यक छ भनेर व्याख्या गर्न नसक्दा विधेयक अगाडि बढ्न सकेनन् । मन्त्रीहरूबाट समितिका सदस्यलाई आश्वस्त गर्ने काममा कमजोरी रह्यो । मन्त्रीहरूले विधेयक राम्ररी पढ्नुपर्छ । कस्ताकस्ता नयाँ कानुन आवश्यक छ भनेर मन्त्रालयमा छलफल गरेर मस्यौदा मन्त्रिपरिषदमा लगेर स्वीकृत गराई संसदमा लैजानेसम्मको काममा मन्त्रीहरूले पहल लिनुपर्छ । 

समयसमयमा सदनमा अवरोध हुँदा पनि विधेयक छिटो पारित हुनमा ढिलाइ भइरहेको छ । हामी प्रतिपक्षमा हुँदा केही समय अवरोध गर्नुपरेको थियो र त्यसको समाधान निकालेका थियौँ । अहिले पनि प्रतिपक्षले अवरोध सिर्जना गर्ने कार्य गरेको छ । यस खालका अवरोध हटाएर विधि निर्माणमा लाग्नुपर्छ । संसद् बैठक नभएको अवस्थामा पनि समितिहरूले विधेयकलाई छिटो किनारामा लैजान पहल गर्नुपर्ने हुन्छ ।

सांसदले विकास निर्माणका सानातिना काम गर्ने होइन । ती कामहरू स्थानीय तह र प्रदेश सरकारबाटै सम्पादन हुन सक्छन् । स्थानीय तह प्रभावकारी हुनुपर्छ । सांसदले विधि निर्माणमै प्राथमिकता दिनुपर्छ, त्यसपछि निर्वाचन क्षेत्रका कामलाई पनि ध्यान दिनुपर्छ । सांसदले अध्ययन गर्नुपर्छ । विज्ञहरूसँग सत्सङ्ग गर्नुपर्छ । विज्ञहरूसँग औपचारिक, अनौपचारिक कुरा गरेर कानुन र नीतिका विषयमा निष्कर्षमा पुग्न सकिन्छ ।

अहिले राज्यका प्रमुख तीनवटै अङ्गका बीचमा अविश्वास उत्पन्न भएको अवस्था छ । न्यायपालिका कार्यपालिकामाथि विश्वास गर्ने अवस्थामा देखिँदैन र कार्यपालिकाले न्यायपालिकाको विश्वास गरेको देखिँदैन । न्यायपालिकाका कतिपय फैसला जनतामा प्रश्न उठ्ने खालका भएका छन् । म उदाहरण दिएर त भन्न चाहान्न तर न्यायपालिकामाथि जनताको विश्वास र भरोसा पुनःस्थापित होस्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरण होस् भन्ने चाहन्छु ।



सांसदले विकास निर्माणका सानातिना काम गर्ने होइन । ती कामहरू स्थानीय तह र प्रदेश सरकारबाटै सम्पादन हुन सक्छन् । स्थानीय तह प्रभावकारी हुनुपर्छ । सांसदले विधि निर्माणमै प्राथमिकता दिनुपर्छ, त्यसपछि निर्वाचन क्षेत्रका कामलाई पनि ध्यान दिनुपर्छ । सांसदले अध्ययन गर्नुपर्छ । विज्ञहरूसँग सत्सङ्ग गर्नुपर्छ । विज्ञहरूसँग औपचारिक, अनौपचारिक कुरा गरेर कानुन र नीतिका विषयमा निष्कर्षमा पुग्न सकिन्छ । सांसद संसदमा आफूलाई जनताका पक्षमा प्रस्तुत गर्न मूलतः स्वतन्त्र नै हुन्छन् । प्रतिपक्षमा हुँदा जस्तो सत्ता पक्षमा हुँदा आक्रामक भाषा नहुन सक्छ । तर, जनताका समस्या र सरोकारलाई आफ्नो क्षेत्र र विषयका आधारमा बोल्न सत्ता पक्षमा हुँदा पनि कुनै रोकतोक हुँदैन ।     

सांसद पूर्वाधार विकास कोषको बारेमा विवाद हुँदै आएको छ । यसमा म त्यति धेरै पक्षधर होइन । बरु राष्ट्रिय योजना आयोगले यस कोषमा बजेट हालिदिए हुन्छ तर सांसदले विकास र बजेट वितरण गरेर बस्ने होइन । सांसदको मूल काम विधि निर्माण भएकाले नै उसलाई विधायक भनिएको हो । संसारका धेरै मुलुकमा सांसदको भूमिकाबारे विवाद छ । तर, मूल काम विधि निर्माण नै हो ।



सरकारको गठबन्धन भर्खरै फेरिएको छ । एकै प्रधानमन्त्रीले तीनपटक विश्वासको मत लिनुपर्ने स्थिति स्थिरताका लागि राम्रो होइन । तर, निर्वाचन प्रणाली नै यस्तै छ, कुनै एक दलको बहुमत आएको अवस्था छैन । सरकारले जनतामा सेवा दिने सवालमा प्रभावकारी काम गर्नुपर्छ, देखावटी काम गर्नु हुँदैन । कागजमा निर्देशन दिएर मात्रै हुँदैन, सेवाबाट देखिनुपर्छ । प्रधानमन्त्री र मन्त्रीले आफ्ना निर्देशन कार्यान्वयन हुन सक्ने हो होइन बुझेर मात्रै निर्देशन दिनुपर्छ । अहिले जनताले व्यवहारमा गुणात्मक परिवर्तन खोजेका छन्, त्यो यो सरकारले दिन सक्नुपर्छ । 

(सांसद रघुजी पन्तसँग राससका प्रकाश सिलवालले गरेको कुराकानीमा आधारित) 

  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १३:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया