नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको पक्षमा रहेका पाँच प्रदेशसभा सदस्यलाई नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेकी छिन् । आइतबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अन्यथा कारबाही भोग्न तयार हुन चेतावनी दिइन् ।
अध्यक्ष श्रेष्ठले आफ्ना ५ सांसदलाई पदबाट हट्ने चाहना हो भने आफूले त्यसको स्वागत गर्ने बताइन्। उनले भनिन्, ‘मलाई आशा छ, अझै पनि पाँचजना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन्। पार्टीको विधान मान्नेछन्, तर उनीहरुको सांसद पदबाटै हटेर जाने इच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु।’
पूर्वमन्त्रीसमेत रहेकी श्रेष्ठले पार्टीका साथीहरुको कारण मुखमै आएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गुमाउनुपरेको बताइन् ।
केन्द्रमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएअनुसार नाउपासहितको नेतृत्वमा सरकार गठन भएको छ ।
सोडारीलाई रञ्जिता पक्षधर दुई सांसदले साथ दिए पनि संरक्षक रेशमलाल चौधरी पक्षधर पाँच सांसदले भने समर्थन गरेका छैनन् । सोडारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । नाउपाका सबै सांसदको समर्थन पाएनन् भने उनले विश्वासको मत पाउँदैनन् । सोडारी नेतृत्वको सरकार ढल्न सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।