प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् ।
महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालू आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए ।
वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए । कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरे नगरेको उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन मूल्यांकनलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकले राख्ने गुनासोमा स्वतः कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई उनले निर्देशन दिएका छन् ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुती गरेका थिए ।
प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘अपराध अनुसन्धान दिग्दर्शन’ पुस्तकको विमोचन पनि गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।