सिरुवा पर्वमा शुभकामना दिँदै प्रधानमन्त्रीले भने– चाडपर्वलाई मौलिक र मितव्ययी ढंगले मनाऔँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिरुवा पर्वको अवसरमा शुभकामना दिएका छन् । सिरुवा पर्व पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बस्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातिले मनाउँछन् ।  

शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् ।  ‘नेपालीहरुलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्वहरु पनि हुन्,’ सन्देशमा प्रधानमन्त्रीले लेखेका छन्, ‘हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्रीले सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेका छन् ।

नयाँ वर्षका रुपमा सिरुवा पर्व तीन दिनसम्म मनाइन्छ । पहिलो दिन वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरी ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘कादो सिरुवा’ मनाइन्छ । तेस्रो दिनआपसमा रंग दलेर ‘रंग सिरुवा’ मनाउने प्रचलन छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार ७:५१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया