logo-img

घुम्ती-रानीटारी खण्डको स्तरोन्नतिको काम धमाधम

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव ४ सय ५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो ।

उक्त मार्गले व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कुल एक हजार ९ सय ५० मिटर ढलान सडकमध्ये एक हजार छ सय मिटर सम्पन्न भइसकेको छ । चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी एमएस गुल्मेश्वर-पाण्डे एन्ड कम्पनी-नयाँ युग जेभीका इन्जिनियर मिलन जिसीले जानकारी दिए ।  



‘उक्त मार्गमा निर्माण गरिने साढे ९ किलोमिटर नालामध्ये अब ८ सय मिटर मात्रै बाँकी छ । करिब ८ किलोमिटर मार्गमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ’, उनले भने, ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति हासिल भइसकेको छ ।’ 

उक्त मार्गमा दैनिक ६५ जना जनशक्ति परिचालन गरी निर्माणलाई तीव्रता दिइएको इन्जिनियर जिसीले बताए । भ्याटसहित ३४ करोड ५८ लाख ५० हजार २ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कम्पनीले काम अघि बढाएको हो ।

९ जेठ २०८० मा सम्झौता गरी उक्त निर्माण कम्पनीले ९ फागुन २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । निर्माणले गति लिएको हेर्दा सम्झौताअगावै सम्पन्न हुने सम्भावना देखिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए ।  

उनका अनुसार कुल सडकमार्गमध्ये सवग्रेड र सवबेसको सात सय मिटर काम बाँकी रहेको छ भने नाला र स्टक्चरको काम सम्पन्न गरिसकिएको छ । उक्त मार्गमा गरिएको ढलानको चौडाइ २० सेन्टिमिटर  र कालोपत्र चार सेन्टिमिटरको हुनेछ । 



गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माणकार्य थालिएको र हालसम्म कार्यप्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । रासस    



  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार १३:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया