logo-img

हामीले दुर्घटना-दुर्घटना मात्रै भन्यौँ, यथार्थमा मदन भण्डारीको हत्या हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक भएको बताएका छन् । 

बिहीबार मदन–आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले जननेता मदन भण्डारीको सत्य तथ्य बाहिर ल्याउन समिति गठन गरे पनि अझै सत्यतथ्य आउन नसकेको बताए । 



तत्कालीन समयमा भण्डारीको निधनले पार्टी पङ्क्तिमै निराशाले सताएको स्मरण गर्दै अध्यक्ष नेपालले भने, ‘घटनाको सन्दर्भमा सत्य तथ्य के हो अझै छानबिन गर्न बाँकी छ । तत्कालीन अवस्थामा पार्टीले तुरुन्त पहलकदमी लियो । त्यसपछि पद्मरत्न तुलाधरको नेतृत्वमा छानबिन कमिटी पनि बन्यो ।’ 

उनले थपे,‘त्यो छानबिन कमिटीको मात्रै रिपोर्टले पुगेन भनेर पार्टीले स्वयं केपी ओलीको नेतृत्वमा छानबिन कमिटी बनायो । त्यो कमिटीबाट कुनै खास कुराहरू आउन सकेन । त्यसैले यस सन्दर्भमा अझै गम्भीर खोजी गर्न आवश्यक छ ।’ 

अध्यक्ष नेपालले दुर्घटनाको अन्तिम साक्षी अमर लामाको समेत हत्या रहस्यमय ढंगले भएको बताउँदै नेकपा एमालेले त्यसको सत्य तथ्य छानबिन गर्न सहयोग गर्नुपर्ने बेला आएको घुमाउरो पारामा उनले भने,‘दुर्घटनाको अन्तिम साक्षी अमर लामालाई यो बीचमा मारियो । कीर्तिपुरमा गइरहेको बेला गोली हानेर मारियो । त्यो पनि रहस्यमय छ । कुनै पार्टीसँग जोडिएका मान्छेले उनलाई मारेको भन्ने कुरा आएको छ । सम्बन्धित पार्टीले पनि के भएको हो भन्ने बारेमा छानबिनमा सहयोग गर्नुपर्ने आवश्यकता छ ।’

यस्तै, सम्मानित नेता झलनाथ खनालले मदन–आश्रितको दुर्घटना नभएर षडयन्त्रपूर्ण हत्या भएको तर्क गरे । 



‘हामी दुर्घटना, दुर्घटना, दुर्घटना मात्र भन्दै हिँडेका छौँ । ३० वर्ष भयो तर यथार्थमा भन्ने हो भने त्यो हत्या हो ।’ उनले मदन–आश्रितको ३१ औँ स्मृतिमा आफूले घटनाबारे सत्य तथ्य बताउने भन्दै थपे, ‘पाखा बाटोमा खनिएको बाटोमा मुग्लिनबाट नारायणघाटतिर गुडिरहेको गाडी भित्तातिरबाट हिँड्छ । त्यो गाडी कसरी दाहिनेतिर भएको खोलामा खस्छ ? षड्यन्त्रपूर्ण ढंगले गाडी खसाइएको हो । षड्यन्त्रपूर्वक रूपले मारिएको घटना हो । घटनाको प्रकृतिले त्यो कुरा पुष्टि गर्छ ।’ 



  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार १४:१५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया