पार्टी एकतामा किन मौन छन् प्रचण्ड ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठनात्मक एकतालाई लिएर पार्टीभित्र विभाजन देखिएकाे छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी मापदण्ड र व्यक्ति छनोटको विषयमा मत विभाजन भएको हो । 

पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले शनिबार चन्द्रागिरि रिसोर्टमा गोप्य छलफल गरेर विवाद सल्टाउने प्रयास गरेका थिए । तर, केन्द्रमा एकता भएकाे ११ महिना बित्न लाग्दा पनि पार्टी एक हुन भने सकेको छैन । स्राेतका अनुसार, पार्टी बैठकहरुमा अध्यक्ष ओली एकता प्रक्रियालाई उत्कर्षमा पुर्याउन जोड गर्छन्, तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने मौन बस्छन् । पार्टी एकताबारे ढिलाइ भएको स्वीकार गरे पनि प्रचणड एकता प्रक्रियामा देखिएको विवादबारे कुरै गर्दैनन्  ।

प्रचण्डको मौनतालाई लिएर उनीमाथि पार्टीकै जिम्मेवार नेताहरूले प्रश्न उठाउने गरेका छन् । माधव नेपाल समूहले भने केपी ओलीको ज्यादतीमा प्रचण्ड साक्षी बसेको आरोप लगाउँदै आएको छ ।

‘केपी ओली पेल्दै जाने, प्रचण्ड चुप लागेर बस्न मिल्छ कि मिल्दैन ? यसैगरी चुप लागेर बस्ने हो भने उहाँको भूमिकामाथि प्रश्न उठ्छ कि उठ्दैन ?' माधव नेपाल समूहका एक नेताले फरकधारसँग भने ।  

यता, प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा भने पार्टी एकताको विषयमा प्रचण्डले भित्रभित्रै काम गरिहेको बताउँछन् । ‘पार्टी एकतामा कहाँ के भइरहेको छ भनेर सार्वजनिक अभिव्यक्ति दिन मिल्दैन,’ सापकोटाले फरकधारसँग भने, 'उहाँ (प्रचण्ड) ले एकताको विषयमा भित्रभित्रै काम गरिरहननुभएको छ । सार्वजनिक अभिव्यक्ति नदिँदैमा उहाँलाई मौन बसेको भन्न मिल्दैन । उहाँले प्रभावकारी भूमिका खेल्नुभएको छ ।’  

प्रचण्डलाई साथ लिएर केपी ओली ‘स्वेच्छाचारी’ बन्दै गएको नेपाल पक्षको आरोप छ । नेताहरूले पार्टीभित्र एक व्यक्ति एक पद लागू गर्नुपर्ने र अध्यक्ष ओलीले पनि सरकारको मात्रै जिम्मेवारी लिनुपर्ने बताएका छन् । 



त्यसो हुँदा पार्टीको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने उनीहरूको माग छ । तर, यस विषयमा ओली निकट नेताहरुले केही प्रतिक्रिया दिएका छैनन् ।
ओलीले पार्टी एकताको सम्पूर्ण जिम्मेवारी वहन गरेका छन् । पार्टी सचिवालय बैैठकमा एकता प्रक्रिया ब्रिफिङ गराउने र पार्टीभित्र असन्तुष्ट रहेका वरिष्ठ नेताहरूलाई मनाउने गरेर सक्रिय रूपमा ओली लागेका छन् । 

एउटै जिम्मेवारी भए पनि ओलीको छेउमा प्रचण्डको भूमिका प्रभावकारी नदेखिएको विश्लेषकहरू बताउँछन् । प्रचण्डले पूर्वमाओवादी नेताहरूलाई एकताको विकसित घटनाक्रमबारे भने जानकारी गराउँदै आएका छन् । त्यसो त प्रचण्डले ओलीले गरेका निर्णयलाई नै समर्थन गर्ने गरेका छन् । 



पार्टी एकताकै प्रक्रियामा ओलीले सार्वजनिक अभिव्यक्ति दिइरहे पनि प्रचण्डले भने दिएका छैनन् । प्रचण्डले बोल्दा सिंगो पार्टीमै ठूलो अर्थ राख्ने र कतिपय कुरामा विवादसमेत देखा पर्ने हुँदा उनले सार्वजनिक अभिव्यक्ति नदिएको एकथरीको बुझाइ छ । 

प्रचण्ड र पूर्वमाओवादीका अन्य नेताहरु अहिलेलाई पार्टी एकता प्रक्रिया टुङ्ग्याउने विषयमा केही नबोल्नेमा सहमत छन् । ‘उहाँहरू एकता भइसकेपछि पार्टीमा आफ्नो लाइन बलियो बनाउने पक्षमा हुनुहुन्छ,’ नेपालनिकट ती नेताले फरकधारसँग भने, ‘अहिलेचाहिँ जसरी हुन्छ एकता प्रक्रिया टुङ्ग्याउँ भन्ने निष्कर्ष माओवादी नेताहरूको हुनसक्छ ।’

राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण पोखरेल पार्टी एकता प्रक्रियामा प्रचण्ड चुप लागेर बसेको बताउँछन् । पार्टी एकता नसकिएसम्म प्रचण्ड कसैको पक्ष, विपक्षमा बोलेर विवादित हुन नचाहेको पोखरेलकाे भनाइ छ । 

‘प्रचण्डले पार्टी एकताको प्रक्रिया टुंगो नलागुन्जेल विवादमा नफस्न चुप लागेर बसेका छन्,' उनी भन्छन्, 'पार्टी एकीकरण भइसकेपछि त्यो कारणले गर्दा भोलि नयाँ ढंगको ध्रुवीकरण फेरि बन्ला, त्यो बेग्लै हो । अहिले यो प्रक्रिया कम्प्लिट हुनुपर्छ भन्नेमै प्रचण्ड पक्ष लागेको देखिन्छ ।’ 

  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १२:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया