उद्घाटन नहुँदै किन भाँचिन्छन् नेपालका पुल ?

काठमाडौं– 

बडीघाट खोला पुल 

२०७६ सालको पहिलो दिन नै गुल्मीकाे बडीघाट खोलामा निर्माणाधिन पुल भाँचियो । काम गरिरहेका पाँच जना घाइते भए । 

मुसीकोट नगरपालिकाका दुई वडा ३ र ७ जोड्ने ५८ मिटरको पुल ढलान गर्दागर्दै भत्किएको हो । धेरै अघि नै बनिसक्नु पर्ने यो पुल वाइपी जयबुद्ध निर्माण सेवा, काठमाडौंले बनाउँदै थियो । ५ करोड १७ लाखको लागतमा ठेक्का दिइएको यो पुल अब के हुन्छ भन्ने अन्योल छ । 

बबई नदीको पुल 

०७४ भदौमा बर्दियाको सदरमुकाम गुलरियाको पूर्वपश्चिम राजमार्ग जोड्ने बगहीघाटको पुल पनि उद्घाटन नहुँदै भाँचियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको सवा ४ सय मिटरको पुल ठेकेदारकै लापरबाहीले भाँचिएको बताइएको थियो ।



करिब १७ करोड लागतमा ठेक्का लिएको उक्त पुल ०६८ सालमा निर्माण सुरु गरिएको थियो । तर, अघिल्लो वर्षको बाढीमा नै पुलको पिल्लर नदीमा धसिएपछि सडक विभागले त्यसलाई स्वीकार गरेको थिएन । पुल भने निर्माण सकिएर नेपाल सरकारलाई हस्तान्तरण नगर्दै चलाउनै नमिल्ने गरि भत्किइसकेको थियो । 

विष्णुमति पुल 



२७ साउनमा ढल्कुस्थित विष्णुमति नदीमा पनि निर्माण हुँदै गरेको पुल भाँचिएर पाँच कामदार घाइते भए । फलामको फ्रेम रहेको पुलमा स्ल्याब राख्दाराख्दै पुल भाँचिएको थियो । डेढ करोडको लागतमा हिम सगरमाथा कन्स्ट्रक्सन प्रालीले पुलको निर्माण गर्दै थियो । 

कमजोर निर्माण सामग्रीको प्रयोगले पुल भाँचिएको स्थानीयको आरोप थियो । 

त्रिशुलीको पुल 

गतवर्ष १० बैशाखमा गल्छी गाउँपालिका र गजुरी गाउँपालिका जोड्ने त्रिशुली नदीको पुल पनि भाँचियो । काम भइरहेको समयमा पुल भाँचिदा तीन कामदार घाइते भएका थिए ।  

१ सय ५८ मिटर लामो पुल चार महिनामा तयार गरेर हस्तान्तरण गर्नुपर्ने समयसीमा थियो । हेप्पेटार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लगानीमा गौरी पार्वती–निलगिरी जेभी कम्पनीले पुल निर्माण गरिरहेको थियो । 

१ करोड १४ लाखमा बन्दै गरेको यो पुल पनि हस्तान्तरण हुनुअघि नै भाँचियो । स्थानीयबासीले ठेकेदारको लापर्बाहीले पुल भाँचिएको बताएका थिए । 

दुधौली खोलाको पुल 

गत १७ भदौमा सिन्धुलीको दुधौली खोलामा बनिरहेको पुल पनि भासियो । प्रजुना निर्माण सेवाले पुल बनाउने ठेक्का ०६२ सालमै लिएको थियो । तर, लामो समय बितिसक्दासमेत पुलको निर्माण सकिएको थिएन । 

२० लाख लागतमा बन्दै गरेको २० मिटर लामो पुल निर्माण कार्य नसकिँदै भाँसिएको थियो । 

सेतीनदीको पुल 

गत २२ जेठमा पनि निर्माणाधिन झोलुङगे पुल भाँचिएको थियो । डोटीको शिखर नगरपालिका र दिपायलको सिलगढी नगरपालिका जोड्ने सेती नदीमाथीको झोलुङगे पुल भत्किएको हो । पुल भत्किँदा काम गरिरहेका ३ जना घाइतेसमेत भएका थिए । 

पुलको ठेक्का काठमाडौं कै खम्बाचो सविना निर्माण सेवाले लिएको थियो । भासिएको उक्त पुलको निर्माण कार्य सकिएको थिएन । 

                                                                               ०००

समयमै निर्माण नसकिने समस्या एकातिर हुँदाहुँदै बन्दै गरेका पुल पनि भाँचिने/भासिने समस्या अर्काेतिर बढ्दै गएको छ । पछिल्लो केही वर्षमा देखिएका यस्ता घटनाले पनि नेपालको निर्माण सेवा दिने कम्पनी र उनीहरुको कामको गुणस्तरमा प्रश्न उठाएको छ । 

सिभिल इन्जिनियर निश्चल अर्याल पनि क्वालिटीको कारणले नै यस्तो घटना हुने बताउँछन् । ‘हाम्रोमा निर्माण सामाग्रीको गुणस्तर पहिलो कुरा भयो’ उनले भने, ‘डिजाइन गर्दा नै पुलको भारवहन क्षमता निक्र्यौल गर्नुपर्छ तर नेपालमा पुलको क्षमता नाप्ने चलन निकै कम भएकोले पनि डिजाइन मै समस्या भएर भत्किन्छ ।’

निर्माण कम्पनीको लापरबाहीले गर्दा नै पुल भत्किएको स्थानीय बताउँछन् । इन्जिनियर अर्याल पनि यसमा सहमत हुँदै अन्य टेक्निकल लापरबाहीका कारण पनि चाँडै पुल भत्किएको हुनसक्ने बताउँछन् । 

‘फलामको डण्डी कम राखेका कारण पनि पुल निर्माण हुँदा हुँदैै भत्किएको हुनसक्छ । पुल बनाउनेको सुपरभिजन राम्रो नहुँदा र काम छिटो सक्न खोज्दा पनि यस्तो यस्ता समस्या देखिन सक्छन्’ उनले भने । उता सडक विभागले साना निर्माणको काम स्थानीय तहको जिम्मामा गएकाले आफूलाई यसबारेमा थाहा नभएको बताउँछ । 

सडक विभागका प्रवक्ता अर्जुन सुवालले गुल्मीमा भाँचिएको पुल सडक विभागअन्तर्गतको नरहेको बताए । ‘फल्सको तौलले गर्दा र पुलको सपोर्टलाई बाढीले बगायो भने पनि यस्तो समस्या हुन सक्छ,’ उनले भने । 

हस्तान्तरण नगर्दै भाँचिए के कारबाही ?

बन्दा बन्दै र निर्माण गरेर हस्तान्तरण नगर्दै पुल भाँचिएमा निर्माण कम्पनीले नै त्यसको क्षतिपुर्ति व्यहोर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रवक्ता सुवाल बताउँछन् । ‘पुल बनाएर हस्तान्तरण नगर्दासम्म निरीक्षणमात्रै गर्ने हो,’ उनले भने, ‘बनाउँदा बनाउँदै भाँचियो भने त्यसको जिम्मेवार निर्माण कम्पनी नै हुन्छ ।’

निर्माण कम्पनीले बिमा गरेको भए उताबाट क्षतिपुर्ति लिनसक्ने उनले बताए । ‘निर्माण सकिएर हस्तान्तरण नगर्दासम्म भाँचिएमा निर्माता कम्पनीले आफ्नै खर्चमा फेरि अर्काे पुल तयार पारेर बुझाउनु पर्छ,’ सुवालले भने । 

  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १६:१९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया