logo-img

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोड्ने लक्ष्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । गुणस्तरीय इन्टरनेट सेवा पुर्याई जनजीवन सहज बनाउने र नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन सरकारले आफ्नो साधन र स्रोतको अधिकतम प्रयोग गर्दै आएको छ । 

त्यसको सार्थक परिणाम पनि हासिल हुँदै आएको छ । देशका ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको लक्ष्यलाई नेपाल टेलिकमले कार्यान्वयनमा ल्याएको छ । यसै क्रममा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘भर्चुअल’ माध्यमबाट कर्णाली प्रदेशको मुगु जिल्लामा फाइबर टू दी होम (एफटिटिएच) सेवाको शुभारम्भ गरे । 



नेपाल टेलिकमका अनुसार उक्त सेवा हुम्लामा पुग्न भने बाँकी छ । सो जिल्लामा समेत आगामी आर्थिक वर्षभित्रै एफटिटिएच सेवा पुर्याउने लक्ष्य राखिएको छ । कर्णाली प्रदेशलाई सिंहदरबारसँग जोड्ने योजना क्रमशः कार्यान्वयन हुँदै गएको मन्त्रालयको बुझाइ छ । कुनै बेला हात हातमा मोबाइल घरघरमा इन्टरनेटको नारा अगाडि सार्दा असम्भव जस्तै मानिए पनि अहिले सम्भव भएको भन्दै मन्त्री शर्माले प्रसन्नता व्यक्त गरिन् ।

उनले नेपाल टेलिकमले व्यवसाय मात्रै नहेरी दूरदराजमा रहेका नागरिकलाई सेवा विस्तार गरिरहेकाले साथ र सहयोग प्रदान गर्न सबैको ध्यानाकर्षण गराइन् । उनले आजदेखि सुरु भएको सेवाले जिल्लाका सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्थानीय सरकारले सहज रुपमा नागरिकलाई सेवा विस्तार गर्न सक्ने विश्वास व्यक्त गरिन् । 

मन्त्री शर्माले विकट पहाडी क्षेत्रमा विद्युत् सेवाको अभावमा नेपाल टेलिकमको टावर सञ्चालनमा समस्या परेको तथ्य पेस गर्दै प्रसारण लाइन विस्तारमा सहजीकरण गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिसकिएको बताइन् । उनले भनिन्, ‘सहज रुपमा सेवा विस्तारका लागि विद्युत्को उपलब्धता नै समस्याको कारक बनिरहेको छ । हामीले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री र सम्बद्ध अधिकारीसँग छलफल गरिसकेका छौँ ।’

मन्त्री शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी दश वर्षलाई सूचना प्रविधि दशकका रुपमा मनाउन लागेको जानकारी दिए । उनले सूचना प्रविधिको अधिकतम उपयोग गरेर मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल हुनसक्ने भएकाले यसलाई साथर्क बनाउन सबैको साथ र सहयोगको अपेक्षा सरकारले गरेको उल्लेख गरिन् । 



नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेकी मन्त्री शर्माले रारा घुम्न जाने पर्यटकलाई केन्द्रमा राखेर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको प्रबन्ध गर्दा त्यसबाट जिल्लालाई मात्रै नभई देशलाई आर्थिक लाभ हुने बताए । सो अवसरमा उनले सेवा विस्तारका लागि अहोरात्र खट्ने कर्मचारी तथा अन्य सरोकारवालालाई धन्यवाद दिइन् । 

निर्माण व्यवसायी र स्थानीयरुपमा देखिएको समस्याका कारण रिपिटर टावर निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको सन्दर्भमा स्थानीयस्तरमा नै समस्या समाधानका लागि पहल गरिदिन उनले प्रमुख जिल्ला अधिकारी र सम्बद्ध सरोकार भएका व्यक्ति वा संस्थालाई आग्रह गरिन् । 



यससँगै नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट, ल्यान्डलाइन फोन र नेट टिभिसहितको सुविधा रहेको फाइबर टू द होम मुगुसहित ७६ जिल्लामा पुगेको छ । पछिल्लो एक वर्षयता ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुम पश्चिम, जुम्ला, कालिकोट, रुकुमपूर्व, डोल्पा र मुगु गरी ७६ जिल्लामा एफटिटिएच विस्तार भएको छ ।  

  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार १७:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया