logo-img

तनहुँको दमौलीमा आगलागी, २० सटर जलेर नष्ट

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । 

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरूपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । 

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए । 

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत् आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए । रासस





  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया