logo-img

‘अपमानित’ बन्दै संसद्, को होला सबैभन्दा दोषी ?

दुर्योधनको अभिमान हस्तिनापुरको विनाशका लागि पर्याप्त थियो । दुर्योधनको महत्त्वाकाङ्क्षालाई मलजल गरेर हुर्काउने शकुनी र पुलपुल्याउने धृत राष्ट्र विनाशको वृक्ष थिए, जहाँ दुर्योधन नामधारी विषको फल फलेको थियो । महाभारत कथाका चर्चित पात्र रहेका यी तीन चरित्र हजारौँ वर्षपछि पनि समाजका लागि उदाहरण बनिरहेका छन्, सायद बनी रहनेछन् ।

नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शिर उठाउने प्रयास गरेको आभास हुन थालेको छ । संसद् नेपाली जनताले निर्माण गरेको हस्तिनापुर हो । यसको अपमान र अवमूल्यन ती जनताको पनि अपमान हो । देशको मार्गचित्र निर्माण गर्ने थलो हो संसद् । त्यो मार्गचित्रमा यात्रा तय गर्न नेतृत्व चुन्ने सर्वोच्च निकाय पनि हो संसद् । संविधान निर्माण गर्ने, संशोधन गर्ने र परिष्कृत गर्दै देश काल अनुकूल बनाएर अघि बढ्ने जीवन्त संस्था हो, संसद् ।



यतिबेला यो संसद् अपमानित भइरहेको छ । राज्य सञ्चालनको जिम्मेवारीमा रहेका अधिकारीहरु नै संसद्को अपमान गरिरहेका छन् । संसद्कै नेतृत्व समेत यसको मान जोगाउन असमर्थ देखिन थालेको छ । तटस्थता संसद्को  नेताको सबैभन्दा उच्च योग्यता मानिन्छ संसदीय परम्परा रहेका देशहरूमा । जस्तोसुकै परिस्थितिमा पनि सन्तुलन डगमगाउन नदिनु र तटस्थ भूमिका निर्वाह गरिरहनु नै संसद्को मुख्य पदाधिकारी सभामुखको स्वधर्म हो । यता आएर सभामुख ती गुणहरूबाट विमुख भइरहेको भनेर प्रमुख प्रतिपक्षले आलोचना गर्न थालेको छ । संसद्को स्वच्छता चाहने जोकसैका लागि पनि यो चासो र चिन्ताको विषय हो ।

अर्कोतिर, सरकारको उच्च ओहोदामा रहेको पदाधिकारी पनि संसद्को वजन घटाउन कारण बनिरहेको देखिन्छ । के विषय संसदभित्र चर्चा गर्न मिल्ने हो, के विषय संसद्को गरिमासँग मेल खाँदैन भनेर सामान्य संसदीय परम्परा र आचरणको समेत ख्याल नभएझैं गरी त्यस्ता सरकारी पदाधिकारीहरूले संसद्को अपमान गरेका घटनाहरू दिनदिनै बढेर गएका छन् ।

संसद्को नेता मानिन्छ प्रधानमन्त्रीलाई । संसदीय परम्परा, मान्यता, शिष्टता र आचरणको कसरी पालना गर्नुपर्छ भनेर मन्त्रीपरिषद्का सदस्यहरूलाई अवगत गराउनु र त्यसको परिपालन समेत गराउनु प्रधानमन्त्रीको पनि दायित्व हो । सरकारको नेतृत्वमा रहेपछि सदस्यहरूलाई अनुशासनमा राख्नु उसको कर्तव्य नै हुन आउँछ । तर आजभोलि प्रदर्शन भइरहेका व्यवहारले त्यस्तो देखाउँदैन । वर्तमान सरकारका सदस्यहरूमा त्यस किसिमको आचरण संसद्ले अनुभव गर्न पाइरहेको देखिँदैन ।

प्रतिनिधि सभाका एक जना पूर्व सभामुखको अनुभवमा ‘वर्तमान संसदमा चरित्र दोषको असर देखिएको छ ।’ कसै न कसैको आलोचना नगरी संसदका विषयमा चर्चा सुरु गर्न सकिने परिस्थिति नरहेको भनेर आफ्नो नाम उल्लेख गर्न नरुचाउने ती पूर्व सभामुखले राजनीतिक नेतृत्वको आचरणकै कारण संसद्ले आफ्नो आस्था र गरिमा गुमाउँदै गएको टिप्पणी गरे ।



वर्तमान प्रधानमन्त्री र उनको नेतृत्वमा रहेका सदस्यहरूले पनि विचार गर्नुपर्ने प्रसङ्गहरू हुन् यी । 

यसो भनेर संसद्को प्रतिपक्षी बेन्च यसमा जिम्मेवार छैन भन्ने होइन । उ त सरकारलाई हरेक प्रश्नमा जबाफदेही र उत्तरदायी बनाउन झन् बढी जिम्मेवार छ । संसद् भनेकै प्रतिपक्षको हो भन्ने मान्यतालाई आत्मसात् गरिएको छ हाम्रो संसदीय अभ्यासमा । संसद्को मूल्यमान्यता, अनुशासन र गरिमाको रक्षा गर्नु, प्रवर्द्धन गर्नु र तल वितल हुन नदिनु प्रतिपक्षको जिम्मेवारी मानिन्छ । सत्तामा पुगेपछि संसद्लाई वैरी जस्तो व्यवहार गर्ने गलत प्रवृत्ति विरुद्ध उभिएर जन निर्वाचित संस्था जोगाइराख्ने दायित्व पनि प्रतिपक्षकै हो । 



यतिबेला संसदमा प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलहरू यति गम्भीर र जिम्मेवार पनि देखिँदैनन् । केवल आफ्नो स्वार्थको विषयमा शक्ति खर्च गरेर संसदीय प्रभाव कमजोर बनाउन प्रतिपक्षको समेत अप्रत्यक्ष भूमिका देखिन्छ । यो चिन्ताको विषय हो । संसद्को प्रभाव बढाउन र यसप्रति जनताको विश्वास प्रबल बनाउन प्रतिपक्षको महत्त्वपूर्ण जिम्मेवारी हुन्छ ।

६ जेठ, आइतबार उपप्रधान तथा गृहमन्त्रीले संसदमा अभिव्यक्त गरेको प्रसंग उनको लागि उपयुक्त थियो होला । उपयुक्त हुने नै भयो । संसद्को गरिमा र मर्यादा अनुकूल भने अवश्य पनि थिएन । उनी केवल व्यक्तिका हैसियतमा कठघरामा उभिएका थिए भने उनको मन्तव्य उपयुक्त नै मानिन पनि सक्दथ्यो होला । उनी सरकारका बहालवाला मन्त्री थिए, संवेदनशील जिम्मेवारी बोकेका सरकारका पदाधिकारी । आफ्ना विरुद्ध उठेका प्रश्नहरूको जवाफ दिँदा रोष्ट्रमको मर्यादा राख्न भने उनी चिप्लिरहेका थिए । संसद् र खुलामञ्चको सभाको भिन्नता बुझ्न नसकेको एउटा अपरिपक्व वक्ताको स्वरूपमा उभिएका थिए गृहमन्त्री । यो घटना संसद्को मर्यादा गिराउन निकै जिम्मेवार देखियो प्रतिनिधि सभा बैठकमा ।

मन्त्रीको भाषा, अभिव्यक्ति शैली र उदाहरणहरू जसरी प्रस्तुत भइरहेका थिए, तिनलाई संसदीय आचरण अनुकूल भए नभएको भनेर सचेत गराउन सभामुखलाई पनि त्यति धेरै चासो भएको देखिएन । उनको उदासीन र अन्यमनस्क अध्यक्षताले  प्रतिनिधि सभाको गरिमा निरीह बनिरहेको देखियो । व्यक्तिको अभिमान, क्रोध, अहङ्कार, घमन्ड र शक्तिको दम्भ प्रकट भएर संसदमा त्यसको नकारात्मक असर पर्न नदिनु सभामुखको परम कर्तव्य हो । सभामुख नै रमिते बन्यो भने सभामा दुर्योधन प्रवृत्तिको हुङ्कार गुन्जिरहन्छ अनि जनताको हस्तिनापुर जस्तो संसद् सदैव निरीह भइरहन्छ । आजको चिन्ताको विषय यो हो ।  

  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार १८:४४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया