logo-img

नलगाड हाइड्रोपावर : ‘शक्ति’को आडमा अष्ट्रेलियाको पिआरधारीलाई नियुक्ति
अयोग्यलाई नियुक्ति दिएर योग्यलाई यसरी पन्छाइयो

नलगाड हाइड्रोपावर कम्पनीले एक सूचना जारी गर्दै रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत (सिइओ) पदका लागि आवेदन माग गर्यो । १४ फागुन ०८० मा कम्पनीले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो । जुन सूचनामा कम्पनीको सिइओे हुनका लागि बुँदागत रूपमा आवश्यक योग्यता पनि खुलाइयो ।  



तर, जब कम्पनीले ३१ वैशाख २०८१ मा एक सूचना जारी गर्दै नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाशबहादुर शाहीलाई नियुक्ति गरेको सूचना सार्वजनिक गर्यो । कम्पनीको सिइओे छनोट गर्न गठित उपसमितिले जाजरकोटका शाहीलाई सिफारिस गरेको हो । शाहीलाई १५ दिनभित्र कम्पनीको कार्यालयमा नियुक्तिका लागि सम्पर्क राख्न आग्रह गरिएको छ । कम्पनीले सिइओ नियुक्तिका लागि निकालेको विज्ञापनमा आवेदन दिएकामध्येबाट उनलाई छानिएको कम्पनीले जनाएको छ । तर, शाहीको छनोटलाई लिएर धेरैले जिब्रो टोके । कारण थियो, कम्पनीले तोकेको योग्यता उनीसँग थिएन । यति मात्र होइन, शाहीले अष्ट्रेलियाको स्थायी बसोवास अर्थात् परमानेन्ट रेसिडेन्सी (पिआर)को अनुमति लिएको खुल्न आयो । 

सिइओ पदका लागि लिखितमा ६ जनाको नाम छनोट भएको थियो । त्यसपछि अन्तर्वार्तामा पाँचजना छानिए । अन्तर्वार्ता र प्रस्तुतीकरणपछि भने दुईजनाको नाम छनोट भयो । पहिलो नम्बरमा शाहीको नाम छनोट भयो भने समितिले वैकल्पिकमा काठमाडौंका देवेन्द्र केसीको नाम सिफारिस गर्यो । केसी करिब १८ वर्षदेखि हाइड्रोपावर क्षेत्रमा काम गरिसकेका व्यक्ति हुन् । कालिगण्डकी, मध्यमस्र्याङ्दी, राधी, सार्दीलगायत हाइड्रोपावरमा काम गरेको अनुभव उनीसँग छ । कम्पनीले खोजेको आवश्यक योग्यताको नजिक पनि देखिँदैनन्, शाही । 

योग्य व्यक्तिलाई पन्छाएर सिइओ छनोट उपसमितिले अष्ट्रेलियाको ग्रिनकार्ड होल्डर व्यक्ति शाहीलाई किन छान्यो ? स्रोतबाट जवाफ आयो– राजनीतिक पहुँचको भरमा सिइओ नियुक्त गरियो । शाही ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतका जिल्लावासी हुन् । नलगाड हाइड्रोपावर कम्पनी सोही मन्त्रालयअन्तर्गतको कम्पनी हो । डाडु–पन्यु आफ्नो हातमा रहेको मौकाको फाइदा उठाउँदै मन्त्री बस्नेतले योग्यता हेरेनन्, निकटता हेरे । यसरी शाहीको नियुक्ति सम्भव भयो ।  

६ मार्च २०२२ मा अष्ट्रेलियाको ग्रिन कार्ड अर्थात् कानुनी रूपमा स्थायी बसोवासको अनुमति पाएका थिए । शाही केही महिनाअघि मात्रै नेपाल फर्किएका हुन् । यति मात्र होइन, शाहीको अनुभव हाइड्रोपावर क्षेत्रमा त्यति धेरै छैन । उनी इलेक्ट्रोनिक्स इन्जिनियर हुन् । हाइड्रोपावरमा विशेष गरेर सिभिल इन्जिनियरले काम गर्छन् । सूचनामा नै मान्यताप्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत् क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कार्य अनुभव गरी १२ वर्षको अनुभव माग गरेको छ । तर, योग्यता नपुग्दानपुग्दै राजनीतिक पहुँचको भरमा शाहीलाई कम्पनीको सिइओ बनाइएको स्रोतको दाबी छ । 



यो कम्पनीले जाजरकोटको नलगाडमा ४१७ मेगावाट जडित क्षमताको आयोजना निर्माण गर्न लागेको छ । आयोजना नलगाड नगरपालिका–२, ५, ७ र ८ तथा बोरेकोट गाउँपालिका– १, २, ५, ६, ७, ८ र ९ मा निर्माण हुनेछ । विस्तृत अध्ययन पूरा भएको आयोजनाका लागि सरकारले लगानी खोजिरहेको छ । लगानी जुटाउन नसक्दा आयोजना निर्माण अघि बढेको छैन ।



यो जलाशययुक्त प्रकृतिको जलविद्युत् आयोजना हो । यो आयोजनाले वार्षिक ३६५५ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन गर्न सक्छ । सुक्खायाममा ६०४.९ गिगावाट आवर उत्पादन गर्न सक्छ । यो आयोजनाको विस्तृत अध्ययन सात वर्ष लगाएर स्मेक र एमडब्लुएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टले गरेको हो । आयोजना निर्माण गर्न करिब दुई खर्ब रुपैयाँ लाग्ने अनुमान छ । 

सरोकारवालाको आफ्नै दाबी 

प्रमुख कार्यकारी अधिकृतको छनोट गर्न गठित छनोट उपसमितिले  भने प्रकाशबहादुर शाहीले आफ्नो डकुमेन्ट बुझाउँदा अष्ट्रेलियाको पिआरधारक भएको उल्लेख नगरेको तर्क गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद रिजालले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताए । ‘हामीलाई जानकारी छैन,’ उनी भन्छन्, ‘मूल्यांकन समितिबाट आएपछि सञ्चालक समितिले उहाँलाई सिइओमा नियुक्त गरेको हो । उहाँले बुझाएको डकुमेन्टमा अष्ट्रेलियाको पिआर पनि रहेको भनेर खुलाउनुभएको छैन । त्यो हुनाले हामीलाई जानकारी हुने कुरा भएन ।’

कम्पनीको सिइओ नियुक्त भएका शाही भने आफूमाथि लागेको अयोग्यताको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्छन् । ‘म इलेक्ट्रोनिक्स इन्जिनियर हुँ’ उनी भन्छन्, ‘तर, मैले विद्युत् प्राधिकरणमा सात वर्ष इन्जिनियरको रूपमा स्थायी जागिर गरेको छु । सात वर्षको दौरानमा देशैभरका पावर हाउस, ट्रान्समिसन सबैमा काम गरेको छु । मेरो लामो अनुभव छ ।’ 

‘इलेक्ट्रिकल वा सिभिल इन्जिनियर भन्ने स्पेसिफिक हुँदैन । जबकि रोल सिइओ हो । डिजाइन इन्जिनियर होइन । यदि डिजाइन इन्जिनियर मागेको भए, के विषयमा इन्जिनियरिङ गरेको भन्ने मान्यता राख्थ्यो होला,’ उनको प्रष्टीकरण छ,‘ सिइओ पद भनेको म्यानेजर रोल हो । कामको दौरानमा जति पोष्ट बढ्दै गयो, उति स्पेसिफिकभन्दा पनि म्यानेजरको स्किल म्याटर गर्छ । जब डिस्कृप्सनमा आएको रिक्वायरमेन्टलाई मिट गरेर मैले यो जब एप्लाई गरेको हो ।’

पिआरको केसमा पनि कुनै सत्यता नरहेको उनको दाबी छ  । ‘अहिले पनि म पिआर होल्डिङकै अवस्थामा हो भनेर प्रुफ देखाउनुपर्यो,’ उनी भन्छन्, ‘यो विषयमा मैले जस्टिफिकेसन दिइराख्नुपरेन । म विदेशमा १२ वर्ष काम गरेर नेपाल आएको हो । पिआर होल्डर भएर यहाँ जागिर खान मिल्दैन भन्ने मलाई राम्रोसँग थाहा छ । यसमा कुनै सत्यता छैन ।’ 

एकपटक होइन, कम्पनीमा पटक–पटक बदमासी

कम्पनीको सिइओ पदका लागि बदमासी भएको यो पहिलो घटना भने होइन । यसअघि ऊर्जा मन्त्रालयअन्तर्गतका सरकारी स्वामित्वका दुई पब्लिक कम्पनीमा एकै व्यक्ति कार्यकारी प्रमुखको भूमिकामा रहेको पाइएको थियो । विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसिएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) बखतबहादुर शाहीले नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक (म्यानेजिङ डाइरेक्टर)को नियुक्ति पनि लिएका थिए ।

त्यतिखेर ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत् उत्पादन कम्पनीमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठलाई पछि पार्दै दैलेख दुल्लु नगरपालिकाका शाही १८ साउन २०८० मा सिइओ नियुक्त भएका थिए । भेरी–बबई परियोजनाको परामर्शदाताका रूपमा ‘एनइए इन्जिनियरिङ’ले आह्वान गरेको प्रतिस्पर्धामा टोली नेतासमेत बन्न असफल भएका शाही राजनीतिक पहुँच प्रयोग गरेर भियुसिएलमा नियुक्ति लिन सफल भएका थिए ।

त्यसको एक महिनाभित्रै भदौ महिनामा उनी नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक बनेका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जासचिव गोपाल सिग्देलसँग निकट सम्बन्ध बनाएका शाहीले एकैपटक दुई कम्पनीको कार्यकारी तहमा काम गर्नु अवैधानिक थियो । यसरी पटक–पटक राजनीतिक पहुँचमा कम्पनीमा बदमासी हुँदा पनि तालुकदार निकाय ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालय मौन छन् ।

सम्बन्धित क्षेत्रमा विज्ञता भएको व्यक्तिलाई एकपटक अवसर दिनु स्वाभाविक भए पनि योग्यतै नपुगेका व्यक्तिलाई त्यस्तो अवसर प्रदान गर्नु गलत मनसाय हो । क्षमता, योग्यता र विज्ञतालाई हटाएर पार्टीगत, जिल्लागत, नातेदार र ठूलो नजराना लिएर अयोग्य व्यक्तिलाई अवसर दिने प्रवृत्ति बढ्दो छ । त्यसैले कुन स्थानमा को व्यक्ति उपयुक्त हुन्छ भन्ने खोजेर, क्षमता हेरेर अवसर दिनुपर्ने आवश्यकता देखिन्छ । नभए विभिन्न निकायमा थिति र मूल्य–मान्यता पन्छाएर व्यक्तिगत र अन्य प्रकारका सम्बन्धका आधारमा नियुक्ति दिने प्रवृत्तिले विधि र पद्धतिलाई नै संकटमा पर्ने देखिन्छ । 

यसैको पछिल्लो उदाहरण हो– नलगाड हाइड्रोपावर कम्पनीमा प्रकाशबहादुर शाहीको नियुक्ति ।

  • प्रकाशित मिति : जेठ ७, २०८१ साेमबार १९:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया