चीनले बनायो विश्वकै पहिलो ‘एम्फिबियस’ ड्रोन, के–के छन् विशेषता ?

बेइजिङ– चीनले विश्वकै पहिलो सामरिक ‘एम्फिबियस’ ड्रोन बनाएको छ । सेटेलाइटबाट कन्ट्रोल गर्न मिल्ने यस ड्रोनले जमिन, हावा र पानीमा मार हान्न सक्ने चीनको दाबी छ । 

१२ मिटर लामो ड्रोनको अधिकतम अपरेसन रेन्ज १२०० किलोमिटर छ भने अधिकतम गति ९२.६ किलोमिटर प्रतिघन्टा छ । 

ग्लोबल टाइम्सको सोमबारको रिपोर्टअनुसार यो ड्रोन वुचांग सिपबिल्डिङ कम्पनीले तयार गरेर सेनालाई हस्तान्तरण गरेको हो । ड्रोनको नाम ‘मराइन लिजार्ड’ राखिएको छ । 

रिपोर्टअनुसार, मराइन लिजार्डमा चार ट्र्याक लगाइएको छ, जसको मद्दतले यो जमिनमा २० किलोमिटर प्रतिघन्टाको गतिले चल्न सक्छ । आवश्यक पर्दा ठूलो ट्र्याक लगाएर यसको गति अझै बढाउन सकिन्छ । 

मराइन लिजार्डको ‘पेलोड’मा एक इलेक्ट्रो–अप्टिकल सिस्टम र एक राडर सिस्टम लगाइएको छ । यसमा दुई मेसिन गन, एन्टी–सिप र एन्टी–एयरक्राफ्ट मिसाइलका लागि भर्टिकल लन्चिङ सिस्टम पनि लगाइएको छ । यो ड्रोन बाधाहरुलाई पन्छाउँदै स्वयं आफ्नो बाटो बनाउन सक्छ । 



सेना विशेषज्ञका अनुसार एम्फिबियस ड्रोनले जमिन र पानी दुवैमा उत्तिकै मार हान्न सक्छ । यो हवाई हमलाको जवाफ दिन पनि सक्षम छ । जमिनबाट समुद्रमा मार हान्नु जोखिमपूर्ण काम हो, तर मराइन लिजार्डको विशेष खुबी नै यसैमा छ । यसले दुस्मनको स्थिति पत्ता लगाएर उसमाथि हमला गर्न सक्छ । 

तटीय सैनिकका लागि यस्तो ड्रोनको विशेष महत्व हुन्छ । निर्माण कम्पनीका अनुसार यो आठ महिनासम्म निर्जन द्वीपमा निष्क्रिय बस्न सक्छ । मराइन लिजार्ड अन्य सैनिकसँग सम्पर्क गरेर उनीहरुको सहायता गर्न सक्छ । यसमा बाहिरी आक्रमणबाट हुने नोक्सानीको खतरा ज्यादै न्यून छ । कम्पनीका अनुसार, यो निर्यातका लागि पनि उपलब्ध छ । 



चिनियाँ रक्षा विभागको बजेट १७८ अर्ब अमेरिकी डलर छ । झन्डै २० लाख सैनिकसहित चीनसँग विश्वकै ठूलो सैन्यबल छ । पछिल्ला वर्ष चीनकाे ध्यान नयाँ–नयाँ हतियार बनाउनमा केन्द्रित छ । 

  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १०:२४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया