विष्णु पौडेल ठगिएकै हुन्, ठग्नेले नै उनलाई क्षतिपूर्ति दिनुपर्छ – मन्त्री बाँस्कोटा
‘बच्चा जन्मेको नदेख्ने, आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन’

बुटवल– सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बालुवाटर सरकारी जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल ठगिएको दोहोर्याउँदै उनलाई जसले ठग्यो, उसैले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

प्रेस संगठन रुपन्देहीले मंगलबार गरेको पत्रकार भेटघाटमा बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणबारे पत्रकारको प्रश्नमा मन्त्री बास्कोटाले भने, ‘उहाँले थर्ड ह्यान्डबाट किन्नुभएको रहेछ, नक्कली जग्गा किन्दा ठगिनुभएछ । अब जोसँग किन्नुभएको हो, उसले क्षतिपूर्ति दिनुपर्छ ।’

भेटघाटमा मन्त्री बाँस्कोटाले तथ्यमा आधारित भएर सरकारको आलोचना गर्न आग्रह गरे । तथ्यविपरीत सरकारको आलोचना गरेको भन्दै उनले आलोचकमाथि आक्रोश पोखे ।

‘सडक बनाएको नदेख्ने, धुलो उडेको मात्रै देख्ने, बच्चा जन्मेको नदेख्ने, आमाको चित्कार र प्रश्रबको रगत मात्रै देख्ने आलोचना सही हुन सक्दैन,’ उनले भने । सरकारले तथ्यमा आधारित आलोचनालाई स्वागत गर्ने भन्दै मन्त्री बाँस्कोटाले गल्ती गर्दा उठ्नै नसक्ने गरी ठटाए पनि हुने बताए । 

देशले नवनिर्माणको बाटो पक्रिसकेको भन्दै मन्त्री बाँक्कोटाले समृद्धि सिंगो देशको बहसको विषय बनेको दाबी गरे । आलोचनाका बीच पनि सरकारले नवनिर्माणको लडाइँ जितेको उनको जकिर छ ।

अहिले पनि देश निर्माण कि आलोचना भन्नेमा द्वन्द्व रहेको भन्दै मन्त्री बाँस्कोटाले कम्युनिस्टको सरकारप्रति धेरैमा मनोवैज्ञानिक र रेडिमेड आशंका उब्जाउन खोजिएको बताए ।





  • प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार १२:४२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया