फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटैयाममा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रोपटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन् ।
पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए ।
पत्रकार श्रेष्ठ एउटै याममा तीनपटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छन् । योसँगै उनले समग्रमा चौथोपटक सगरमाथा आरोहण गरिन् । श्रेष्ठले यसअघि यही याममा १२ मेमा पहिलोपटक तथा १९ मेमा दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन् ।
विश्वका ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।