logo-img

‘थाइराइड देखिँदैमा सन्तान जन्मिँदैन भन्ने भ्रम मात्र हो’
फाइल तस्बिर

पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । ​थाइराइड फेडरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले आफ्नो जीवनकालमा थाइराइडको समस्या भोग्न सक्छन् ।

महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्सक बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावारी गडबडी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ । 

हर्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. रूपक भारी भन्छन्, ‘थाइराइडको समस्या भएर बच्चा जन्मिँदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो । थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिने हुन्छ । तर बच्चै नहुने भन्ने हुन्न,’ उनले भने । 

कतिपय समस्या भोगेका महिलाले परिवार तथा समाजबाट यातनासमेत पाउने गरेको डा. भारीको भनाइ छ । उनका अनुसार थाइराइडको समस्याले भन्दा पनि समाज र परिवारले दिने यातनाको तनावले बच्चा नजन्मिने खतरा हुन्छ । ‘थाइराइडका कारण नहुने भन्ने हुन्न । हर्मोन सन्तुलन गर्ने उपचारपश्चात महिलाले बच्चा जन्माउन सक्छन्,’ उनले भने । थाइराइड कुनै रोग होइन, यो घाँटीमा हुने ग्रन्थी भएको उल्लेख गर्दै डा. भारीले यसले हर्मोन उत्पादन गर्ने तथा त्यसमा गडबढी आएमा समस्या हुने बताए ।  



नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएस)का अनुसार थाइराइड मुख्यतः दुई प्रकारका हुन्छन् । हाइपरथाइरोडिजम (हर्मोन बढी उत्पादन हुने) र हाइपोथाइरोडिजम (हर्मोन कम उत्पादन हुने) । हर्मोन उत्पादन कम भएमा एक्कासि तौल बढ्ने, मुटुको चाल कम हुने, रक्तचाप कम हुने, छाला सुक्खा हुने तथा कब्जियत हुनसक्छ । 

हर्मोन उत्पादन बढी भएमा शरीरको तौल घट्ने, मुटुको धड्कन तेज भएर जाने, रक्तचाप बढ्ने, आँखाको गेडी नै बाहिर निस्केलाजस्तो ठूलो भएर जाने, आत्तिने र पसिना चिटचिट हुने समस्या देखिन्छ ।

डा. भारीका अनुसार थाइराइडको समस्या जोकोहीलाई र जुनसुकै उमेरमा पनि देखिन सक्छ । ‘हर्मोन उत्पादन कम हुने समस्या बढी देखिने गरेको छ । कुनै पनि रोग वा समस्याको सही समयमा पहिचान भयो भने उपचार सम्भव छ । थाइराइडलाई ठूलो समस्या बनाइएको छ । तर उपचारपछि हर्मोन नियन्त्रणमा ल्याउन सकिन्छ, डराउनुपर्ने कारण छैन,’ उनले भने । थाइराइडको समस्या थाहा पाउन वर्षमा एकपटक थाइराइड फङ्सन टेस्ट (टिएफटी) गर्न डा. भारी सुझाउँछन् ।

‘थाइराइडमा खानेकुरा बार्नुपर्ने भन्ने छैन । स्वस्थकर खाना मजाले खान सकिन्छ । स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । स्वस्थकर खाना, सकरात्मक सोच, शरीरको तौल नियन्त्रण, नियमित व्यायाम गर्न आवश्यक छ,’ उनले भने ।  



हरेक वर्ष २५ मेमा विश्व थाइराइड दिवस मनाइन्छ । यस वर्षको विश्व थाइराइड दिवसको नारा थाइराइडलाई नसर्ने रोगको रूपमा लैजाने भनिएको छ । थाइराइड ग्रन्थिको महत्व र थाइराइड रोग भएका व्यक्तिलाई सही निदान र उचित उपचार सुविधामा पहुँचका विषयमा छलफल तथा चेतना जगाउन यो दिवस मनाइन्छ । 

थाइराइड फेडरेशन इन्टरनेशलका अनुसार विश्वभर थाइराइडको जोखिममा एक अर्ब ६० करोड व्यक्ति रहेको अनुमान गरिएको छ । थाइराइड रोग पुरुषभन्दा महिलामा १० गुणा बढी देखिने गरेको बताइन्छ । रासस 
 

  • प्रकाशित मिति : जेठ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया