logo-img

प्रत्यक्ष राजनीतिमा पाइला बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, एमालेको महिला भेलामा प्रमुख अतिथि

नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले राष्ट्रिय महिला भेलाको आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी संगठनले यही जेठ १६ र १७ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने जानकारी दिएको हो । 

राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रहनेछन् । भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको विषद् चर्चा र चुनौतीहरूका विषयमा छलफल गरिने संगठनले जनाएको छ । 

साथै महिला आन्दोलनका अबका एजेण्डाहरूलाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय पनि गरिनेछ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा करिव पाँच हजार महिलाको सहभागिता रहनेछ । 



भेलाको दोस्रो दिन १७ गतेको कार्यक्रम तोकिएका प्रतिनिधिहरूका बीचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुनेछ ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरु, नेकपा (एमाले) आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।



भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्वपूर्ण विषयमा समूह छलफल हुने छ र समूह प्रस्तुतिपछि भेलाका निष्कर्ष सार्वजनिक हुनेछ ।

राज्यबाट पूर्वराष्ट्रपतिलाई दिइने कुनै पनि सेवासुविधा नलिने निर्णय गरेर ६० वर्षीया भण्डारी राष्ट्रपति पदबाट बिदाइ भएकी थिइन् । उनले राजनीतिमा फर्किन विकल्प सहज बनाइसकेकी छिन् । उनले प्रत्यक्ष राजनीतिमा 
फर्किने विषयमा आवश्यकताले सबै निर्धारण गर्ने बताएकी थिइन् । 



तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले दुईपटक राष्ट्रपति निर्वाचित भएर सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् । प्रथम राष्ट्रपति डा. रामवरण यादव भने अवकाशपछि सक्रिय राजनीतिमा छैनन् । 

३ असोज ०७२ मा संविधान जारी भएपछि ११ कात्तिकमा नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भण्डारी पहिलो कार्यकाल करिब दुई वर्ष चार महिना पदभार सम्हालिन् । 

०७४ को निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट एमालेले उनलाई नै दोस्रो कार्यकालका लागि अघि सार्‍यो । २९ फागुन ०७४ मा दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित उनी २८ फागुन ०७९ मा पाँचवर्षे कार्यकाल पूरा गरिन् । 

अवकाशपछि राष्ट्रपति भण्डारीले राज्यबाट पाइने सेवा–सुविधा नलिने निर्णय गरिसकेकाले समय र परिस्थितिअनुसार कुनै पनि वेला राजनीतिमा फर्किने निर्णय गर्न सक्ने उनका राजनीतिक सल्लाहकार लालबाबुप्रसाद यादवले संकेत गरेका छन् ।

‘संविधानले पनि पूर्वराष्ट्रपतिलाई राजनीति र सामाजिक सेवाका क्षेत्रमा काम गर्न कुनै रोक लगाएको छैन, त्यसैले समय–परिस्थितिले के भन्छ, त्यसअनुसार उहाँले निर्णय गर्न सक्नुहुनेछ,’ उनले भने ।

राजनीतिमा फर्किने कि नफर्किने उनको इच्छामा भर पर्ने उल्लेख गर्दै उनले भने, 'निर्णय गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ । जनताको चाहना हुनुपर्छ, त्यसपछि उहाँले आवश्यकताअनुसार विचार गर्नुहोला ।’

  • प्रकाशित मिति : जेठ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया