पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले दिएको अधिकार व्यावहारिक रुपमा कार्यान्वयनमा अझै चुनौती रहेको बताएकी छन् ।
काठमाडौंमा बुधबार आयोजित एमालेको राष्ट्रिय महिला भेलामा उनले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भए पनि समाजमा विद्यामान पितृसत्तात्मक सोचले व्यावहारिक रुपमा कार्यान्वयनमा अझै नभएको बताइन् ।
‘समाजमा आधा हिस्सा ओगटेका महिलाका लागि एकतिहाइ सहभागिताको पूर्ण उपलब्धि भने भएन, त्यसकारण प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि हामीले हाम्रा प्रयासलाई जारी राख्नुपर्छ,’ उनले भनिन्, ‘महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भए पनि हाम्रो समाजमा विद्यामान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास र कुप्रथाका कारण संविधान र कानुनले दिएको अधिकारको व्यावहारिक कार्यान्वयनमा अझै चुनौती बाँकी नै छन् ।’
उनले सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व सबैको काँधमा रहेको बताइन् ।
उनले भनिन्, ‘वर्तमान नेपालको संविधानले जनताका आधारभूत अधिकारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको सन्दर्भमा अब संविधानमा आधारित मौलिक हकको व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ मुलुकलाई अघि बढाउने दायित्व रहेको छ ।’
मुलुकको व्यापार घाटालाई कम गर्नुपर्ने भन्दै त्यसको लागि कृषि, वन पैदावार र जडीबुटीमा आधारित उत्पादनको वृद्धि, निर्यात प्रवद्र्धन, पर्यटन प्रवद्र्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिनुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।