वैशाख दोस्रो साताभित्र नेकपाको एकता टुंगिने

काठमाडौ‌ं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ९ वैशाखभित्र पार्टी एकताको विषय टुंगो लाग्ने बताएका छन् ।

बुधबार फरकधारसँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले अन्तिम चरणको छलफल चलिरहेको बताउँदै ढिलोमा ९ वैशाखभित्र एकताको टुंगो लगाएर घोषणा गर्ने बताए । 

‘अन्तिम चरणको छलफल चलिरहेको छ । शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमै हुनुहुन्छ,’ नेता पौडेलले भने, ‘९ वैशाखभित्रमा टुंगो लगाएर पार्टी एकताको घोषणा हुन्छ ।’

एकता प्रक्रियामा असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले एकता गर्दा नेतृत्वको टुंगो मापदण्ड, विधि, प्रक्रिया र आधारमा लगाउनुपर्ने अडान लिएका थिए । यस विषयमा वरिष्ठ नेता नेपालसँग सहमति भइसकेको नेता पौडेलले बताए । 

‘माधव नेपाल कमरेडसँग आन्तरिक कुराकानी भइरहेको छ । जिल्लाका वरिष्ठ नेताहरू जो–जो छन्, उनीहरूलाई सकेसम्म पार्टीको जिम्मेवारी दिने निर्णय भएको छ । वरिष्ठ र सक्रिय नेता–कार्यकर्तालाई जिम्ेमवारी दिने उहाँ (नेता नेपाल) सँग सहमति भएको छ,’ पौडेलले भने ।

३० चैतमा पार्टी एकताको टुंगो लगाउन सचिवालय सदस्यहरू विष्णु पौडेल र रामबहादुर थापासहित अध्यक्षद्वयले चन्द्रागिरिमा गोप्य छलफल गरेका थिए । चन्द्रागिरि बैठकपछि अध्यक्षद्वयले असन्तुष्ट नेताहरूसँग छुट्टाछुट्ट्रै छलफल गर्दै आएका छन् । सोमबार नेता नेपालसँग अध्यक्ष ओली र दाहालले पटक–पटक छलफल गरेका थिए ।



सचिवालय सदस्य ईश्वर पोखरेलले चन्द्रागिरिको छलफललाई पार्टी एकताका लागि ‘ब्रेक थ्रु’ भनेका थिए । नेता पौडेलका अनुसार, पार्टीमा अहिले एकताका बाँकी काम टुंग्याउने गरी गृहकार्य भइरहेको छ, र अन्तिम टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी छ ।  

झन्डै एक वर्षदेखि अल्झिएको एकता प्रक्रियाका सबै काम कम्युनिस्ट पार्टी स्थापना दिवस (९ वैशाख) अघि नै टुंग्याउने अध्यक्ष ओलीले बताउँदै आएका छन् । केही दिनअघि ओलीले वैशाख १० गते पार्टी एकता घोषणा गरेर सरप्राइज दिने अभिव्यक्ति दिएका थिए । 



नेकपाको अहिलेसम्म सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी गठन अझै हुन सकेका छैनन् ।

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्र एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, ११ महिना बित्दासमेत एकताको टुंगो लाग्न सकेको छैन । 

  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १३:७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया