बागमती प्रदेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त प्रस्ताव पारित गरियोस् भनी आजको प्रदेशसभा बैठकमा पेस गरेका थिए ।
सो बैठकमा प्रदेशसभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नका जवाफ दिँदै उनले प्रदेश सरकारले दलगत स्वार्थभन्दा माथि उठेर सबै प्रदेशसभाका सदस्यहरूको भावनालाई कदर गर्दै आगामी आवमा राष्ट्रिय गौरवको आयोजना र बजेट सन्तुलित ढङ्गबाट वितरण गर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका एक सय १९ मध्ये ८५ स्थानीय तहमा आधुनिक प्रविधिबाट कृषि उत्पादन गर्ने लक्ष्यका साथ सरकारले पकेट कार्यक्रमको तर्जुमा गरिएको उल्लेख गरे । उनले प्रदेशका १३ जिल्लामा प्रत्येकमा एक/एकवटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ स्रोतसाधन तथा बजेट तर्जुमा गर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले अहिले कृषि मन्त्रालयमा प्रदेशमा १० प्राङ्गारिक मल कारखानाका लागि मागपत्र प्राप्त भएको र सो माग पत्रलाई विज्ञहरुले छलफल गरिरहेको जानकारी दिए । शिक्षाको गुणस्तरलाई परिमार्जन गरी प्रदेशको पायक पर्ने स्थानमा प्रदेश विश्वविद्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कार्यदल गठन भइसकेको उनले उल्लेख गरे ।
कृषि, वन, इन्जिनियरिङ, स्वास्थ्य चिकित्सक, मानविकी तथा व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यालयको कोटा निर्धारण गरी भर्ना गर्ने चलनलाई अब प्रदेश सरकारले अन्त्य गर्ने प्रक्रियालाई ऐन, कानुनको तर्जुमा गरी कार्यान्वयन गर्नेतर्फ सरकारले पहल गर्ने बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रादेशिक पाँच अस्पताललाई गुणस्तरीय एवं स्वास्थ्य क्षेत्रलाई फड्को मार्ने किसिमको नमूना अस्पताल निर्माण गर्ने योजना छ । चितवनको माडी, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको दूधौली र रामेछापको मन्थलीस्थित अस्पताल निर्माण गर्ने योजना छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।