५ दशमलव २ प्रतिशत ब्याजदरमा प्रभु बैंकले कर्जा प्रवाह गर्ने

काठमाडौं–  प्रभु बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ । यी कर्जा योजनामा बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदर तोकेको छ । 

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्रअनुसार बैंकले सहुलियत रूपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेको हो । जसअनुसार, व्यावसायिक कृषि तथा पशुपक्षीको विकासका लागि ५ करोडसम्म कर्जा दिन सकिने योजना छ । 

त्यसैगरी, शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने तर त्यसका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।

बैंकले विदेशबाट फर्किएका युवाका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । ग्रिन कार्ड होल्डरको हकमा भने यो योजना लागू नहुने प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए । 

त्यसैगरी बैंकले महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलितहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना सार्वजनिक गरेको छ । 

प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पुर्याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । 



प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा सञ्चालनका लागि कठिनाई भइरहेका बाँकी स्थानीय तहमा पनि ब्रान्चलेस बैंकिङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए ।

कम्पनी वा संस्थाले कर्जा लिनका लागि बैकले तोकेको मापदण्ड पूरा गर्नुपर्नेछ । १० लाखभन्दा बढीको कर्जाका लागि संस्था र १ करोडभन्दा बढीका लागि कम्पनी दर्ता भएको हुनुपर्ने मापदण्ड छ । 



  • प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार १७:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया