हावाहुरी, बाढी र चट्याङको मारमा दक्षिण एसिया, तीन दिनमा १०० भन्दा बढीको ज्यान गयो

काठमाडौं– आँधीहुरी, चट्याङ र बाढीका कारण तीन दिनयता दक्षिण एसियाका भारत, पाकिस्तान र अफगानिस्तानमा १०० भन्दा बढीको ज्यान गएको छ । सिरियादेखि आएको पश्चिमी वायुका कारण चलेको हुरी र वर्षाको प्रभाव नेपालमा भने सामान्य छ । प्रशान्त महासागरको भूमध्यरेखा आसपासमा देखिएको जलवायु प्रभावका कारण दक्षिण एसियामा त्यसको असर परेको मौसमविद्हरुले बताएका छन् । 

मिडिया सिपोर्टहरुका अनुसार यो मौसमी विषमताले पाकिस्तानमा ३९, भारतमा ४७ र अफगानिस्तानमा १५ जनाको ज्यान लिइसकेको छ । ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने समाचारहरुमा बताइएको छ । थुप्रै मानिस अझै हराइरहेका छन् । 

हावाहुरीसँगै उत्तरी पाकिस्तानमा बाढीसमेत आएको छ । कराँची, इस्लामावादलगायत क्षेत्र हुरीको चपेटामा छन् । भारतमा गुजरात, राजस्थान, मध्यप्रदेश, मणिपुरलगायतका क्षेत्र नराम्ररी प्रभावित भएका छन् । अफगानिस्तानको उत्तरी र मध्य भागमा बाढीले बितन्डा मच्चाएको छ । 

नेपालमा बेलाबेला सामान्य हावाहुरी चलिरहेको छ । देशभर छिनछिनमा मौसम बदली भई वर्षा भइरहेको छ । ठाउँ–ठाउँमा चट्याङ परेको छ । केही साताअघि बारा र पर्सामा आएको भीषण हुरीले २९ जनाको ज्यान लिएको थियो । 



मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी भेगमा आज आंशिकदेखि सामान्य बदली रहने र अन्य भेगमा मौसम सामान्यतया सफा रहने जनाएको छ । पश्चिमी पहाडी भगेका केही स्थानमा र मध्य तथा पूर्वी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 



  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १०:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया