१३२ बल बाँकी छँदै कुवेतलाई ८ विकेटले हरायो, तर विश्वकप पुग्न सकेन नेपाल

काठमाडौं– आइसिसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले हराएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपालले १३२ बल बाँकी छँदै लक्ष्य भेट्टायो । लक्ष्य भेट्ने क्रममा २८ ओभरमा दुई विकेट गुमाएर नेपालले १६० रन बनायो । 

नेपालको जितमा रित गौतम र पवन सर्राफले अर्धशतक बनाए । ८४ बल खेलेका रितले ७ चौका हिर्काउँदै ६२ रन जोडे । पवनले ६१ बलमा ८ चौका र १ छक्कासहित ५३ रन हिर्काए ।

आसिफ सेफले २० बलमा नटआउट रहँदै ३३ रन बटुले । विस्फोटक ब्याटिङ गरेका उनले ५ चौका र १ छक्का हिर्काए । अर्का ब्याट्सम्यान सन्दीप झोराले ३ बलमा नटआउट ५ रन बनाए । यसबीच उनले १ चौका हिर्काउन भ्याए । 

कुवेतका लागि हमौद अमानुल्लाह र अब्दुल सादिकले १/१ विकेट लिए । 

यसअघि, कुवेतको ब्याटिङमा नोम्यान बुड्रोले सर्वाधिक ७० रन जोडेका थिए । ४९.४ ओभरमा रनआउट हुनुअघि १२० बल खेलेका नोम्यानले ८ चौका हिर्काए । 



गोकुल कुमारले ६६ बलमा ३६ रन जोडे । उनलाई नेपालका सूर्य तामाङले आउट गरे । हमौद अमानुल्लाहले ४५ बल खेल्दै १७ रन बटुले । 

नेपालका पिके पौडेलले सर्वाधिक ३ विकेट गिराए । जम्मा ३ ओभर बलिङ गरेका पौडेलले १ चौकासहित १३ रन खर्चिए । रसिद खान, सूर्य तामाङ र कुशल मल्लले समान २ विकेट लिए । 



प्लेयर अफ द म्याच नेपालका रित गौतम चुनिए । 

खेल जिते पनि नेपाल विश्वकपमा छनोट हुन भने सकेन । पाँचमध्ये चार खेल भारी अन्तरले जितेको नेपालको विश्वकप यात्रामा पाँचै खेल जित्ने युएई तगारो बन्यो ।

सिंगापुर, मलेसिया, ओमन र कुवेतलाई सजिलै हराएको नेपालको युएईसँगको खेल भने वर्षाले प्रभावित भएको थियो । जसका कारण नेपाल डिएल मेथडमा १ रनले हारेको थियो । त्यो १ रनको हार नेपालका लागि ज्यादै महँगो पर्यो । 

  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १३:३९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया