Sat, 20 Jul, 2019


'थिएटर क्रेज होइन, कल्चर बन्नुपर्छ'
फरकधार / बैशाख ५, २०७६
थिएटर मल निर्माण गर्दाकाे समयमा कलाकारहरु ।

काठमाडौं– काठमाडौं मलको छतमा २०७१ साउन मसान्तबाट सुरु भएको थियो, थिएटर मल । तर, ३ वर्ष नपुग्दै थिएटरको यात्रामा विराम लाग्यो । 



झन्डै २ वर्षको विश्रामपछि गत १३ फागुनमा थिएटर मलको यात्रा कीर्तिपुरको राराहिल स्कुल परिसरबाट अघि बढ्यो, कीर्तिपूर रंगमञ्चका रुपमा । 

केही थान रंगकर्मी, जो सपना देख्थे नयाँ बाटो खन्ने, रंगमञ्चका माध्यमबाट समाजलाई सत्मार्गमा डोर्याउने । यही सपनाले उनीहरुलाई एउटा स्वतन्त्र थिएटर खोल्न घचघच्यायो । परिणामस्वरुप जन्मियो, एक स्वतन्त्र थिएटर– थिएटर मल । 

थिएटर त्यसै बन्दैन । यो बन्नका लागि लामो त्याग, तपस्या वा साधना चाहिन्छ । त्यही साधना र तपस्याले निर्माण गरेको हो, थिएटर मल । यसका संयोजक हुन्, केदार श्रेष्ठ ।

निर्देशक श्रेष्ठको भनाइमा कुनै पनि काम गर्न सपना देख्नुपर्छ । सपना नदेखी कुनै सुरुआत हुँदैन ।’ थिएटर खोल्नु उनको सपना थियो । उनी विभिन्न मलहरुमा फिल्म हेर्ने जान्थे र एउटै मलमा तीनचार ओटा फिल्म हल देख्दा एउटा रंगमञ्चको कल्पना गर्थे उनी ।

‘मलमा एउटा थिएटर खोल्न पाए कति राम्रो हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनी सुनाउँछन् । यस्तो कल्पनाले उनीसँगै उनको टिम थिएटरका लागि मलको खोजीमा जुट्यो, र काठमाडौं मलको छतमा बन्यो, थिएटर मल । सुस्केरा कला समूह र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण थियो यो ।

केदार श्रेष्ठको बुझाइमा केवल नाटक देखाउने थिएटर नभएर नेपाली थिएटरलाई कल्चरको रुपम विकास गर्न जरुरी छ । तर, त्यसका लागि निकै कठिन समय हो यो । यद्यपि, नेपालमा थिएटर कल्चरको विकास गरेरै छाड्ने उनी बताउँछन् । भन्छन्, ‘एकदिन अवस्य थिएटर कल्चर बन्नेछ ।’

थिएटर मल चलाउने जोसिला रंगकर्मीको टिममा केदारसँगै सज्निता पराजुली, अभय बराल, मन्जु गिरी, शान्ति गिरी, मानस राज, विकास घले गुरुङलगायत छन् । टिमको नेतृत्व केदार श्रेष्ठले गरिरहेका छन् ।

थिएटर मलमा आउनुभन्दा पहिले यी सबै रसियन कल्चर सेन्टरमा चलेको शैली थिएटर गु्रपमा काम गर्थे । शैलीमा पनि श्रेष्ठ नै संयोजक थिए । उनी भन्छन्, ‘२०६५ देखि म धेरै एक्टिभ थिएँ । शैलीमा हुँदा अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको संयोजनका साथै डिजाइन पनि मैले नै गरेको थिएँ ।’ यसरी काम गर्ने सिलसिलामा नयाँ थिएटर खोल्ने धारणा आयो ।

श्रेष्ठ भन्छन्, ‘थिएटर सेन्टर फर चिल्ड्रेन, हामीसँग एउटा अर्गनाइजेसन थियो । यो अर्गनाइजेसनले चिल्ड्रेन थिएटरलाई पनि केही गर्नुपर्छ भनेर थिएटर मल सुरु गरेका थियौँ ।’ तर, त्यतिबेला थिएटर मल दर्ता भएको थिएन । यो केवल एउटा भेन्यु मात्र थियो । अब यो भेन्यु मात्र नभएर अर्गनाइजेसन नै बनाउनुपर्छ भनेर यसको नाम थिएटर मल राखेका हौँ ।’

सानो समूहबाट सुरु भएको थिएटर मल आज ठूलो सञ्जाल बनेको छ । उनी भन्छन्, ‘सुरुवात गर्दा हामी ८–९ जना मात्र थियौँ । पछि बन्द हुने बेलासम्म २४ जनाजति भएका थियौँ ।’

काठमाडौँ मलसँग ६ वर्षका लागि सम्झौता गरी लगभग ३५ लाख खर्चेर बनाएको थिएटर मल ३ वर्ष नपुग्दै २०७४ जेठमा भत्काउनुपरेको थियो । यो समग्र नेपाली रंगमञ्चको लागि ठूलो क्षति थियो । त्यो क्षण सम्झेर भावुक हुँदै केदार भन्छन्, ‘त्यतिबेला थिएटर भत्केको थिएन, हाम्रो सपना भत्केको थियो । यसलाई शब्दमा भन्न सकिन्न ।’ 

थिएटर नरहे पनि उनीहरु रं‌गकर्मलाई कहिल्यै नछोड्ने, कहीँ न कहीँ रंगमञ्चीय गतिविधि गरिरहने संकल्पले स्लोगन बनाएरै अघि बढे । स्लोगन थियो, ‘हामी निरन्तर रंगमञ्चमा छौँ ।’ केदार भन्छन्, ‘यही स्लोगनमा आधारित रहेर थुप्रै साहित्यिक र रंगमञ्चीय काम गर्यौँ ।’

यसबीचमा थिएटर मलले चिल्ड्रेन वर्कसप, फिल्मका काम र साहित्यिक गतिविधि चलायो । यसका साथै, मण्डलासँग नाटक लाटीको छोरो र उपियाँको निबन्ध, शिल्पीसँग ‘थ्री सिस्टर्स’ नाटकमा सहकार्य गर्यो । पर्यटन बोर्डमा कवितालाई नाट्य रुपान्तर गरी मञ्चन गरेको थिएटर मलले ‘रंगकर्मीहरुका कविता’ भनेर कविता श्रृंखला पनि चलायो । 

ठूलो लगानी गरेर बनाएको थिएटर मल छोटो समयमै बन्द भए पनि उनीहरुको हिम्मत भने टुटेन । यसलाई फेरि ब्युँताउने उद्देश्य लिएर डटिरह्यो केदारको टिम । 

‘नाटकघर बन्द भएको थियो, तर थिएटर मल अर्गनाइजेसन बन्द भएको थिएन । यसले आफ्नो काम निरन्तर गरिरहेकै थियो ।’ केदार भन्छन्, ‘पहिलेको थिएटर मलबाट २२ लाख ऋणमा छौँ । फेरि कीर्तिपुर रंगमञ्च निर्माण गर्दा १० लाख खर्च भएको छ ।’

यी सबै रकम साथीहरुको साथ र सहयोगबाट जुटेको उनी बताउँछन् ।

कीर्तिपुर रंगमञ्च नगाउँस्थित राराहिल स्कुलको हलमा निर्माण भएको छ । तत्काललाई स्कुलसँग थिएटर मलले १५ वर्षे सम्झौता गरेको छ । यही फागुन १४ गते उद्घाटन भएको रंगमञ्च नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पहिलो नाटक ‘भोको घर’ मञ्चन गर्दै सञ्चालनमा आएको हो । नाटकको निर्देशन स्वयं केदारले गरेका हुन् ।

‘नेपाली कला, साहित्यलगायत नेपाली रंगमञ्चमा कीर्तिपुरको ठूलो योगदान छ । त्यसैले कीर्तिपुरलाई रोजेका हाँै,’ कीर्तिपुरमा नै रंगमञ्च खोल्नुको कारण खुलाउँदै उनी भन्छन्, ‘कीर्तिपुरका मानिसहरुले नै हरेक नाटकघरमा गएर नाटक हेर्छन् भने कीर्तिपुरमा नै किन नखोल्ने भन्ने लागेर यो ठाउँलाई रोजेका हौँ ।’

काठमाडौंमा ५०० मिटरदेखि १ किलोमिटरको दुरीमा थिएटर छन् । यसले गर्दा थिएटरले पुग्दो दर्शक भित्र्याउन सकिरहेका छैनन् । त्यसैले, थिएटरहरु दर्शक बटुल्न पनि नयाँ–नयाँ ठाउँमा फैलिनुपर्छ । श्रेष्ठ भन्छन्, ‘जबसम्म थिएटर विकेन्द्रीकृत हुँदैन, तबसम्म थिएटरका दर्शक बढ्ने कुरै छैन । त्यसैले, कीर्तिपुरमा थिएटर खोलेका हौँ ।’ 

‘कला, साहित्य बिक्री गरेर मात्र चल्दैन । यसका लागि कल्चरको विकास हुनुपर्छ । युरोपियन देशहरुमा थिएटर नजाने जनताका सेवासुविधा सरकारले काटिदिन्छ । अर्थात्, थिएटर जानु अनिवार्य छ । भारतमा पनि यस्तै छ ।  हाम्रोमा त्यो कल्चर छैन । यसका लागि सरकारले कुनै नीति पनि बनाएको छैन,’ श्रेष्ठ थप्छन्, ‘अहिले भनेको थिएटरको क्रेज हो, कल्चर होइन । हामी जतिले पनि थिएटर गरिरहेका छौँ, सबैले थिएटर क्रेजका कारण गरिरहेका छौँ । कल्चर बनाएर गरिरहेका छैनौँ । यसलाई कल्चरमा डेभलप गर्न आवश्यक छ ।’

नेपाली रंगमञ्चलाई संस्कृतिका रुपमा कसरी विकास गर्न सकिन्छ ? भन्ने प्रश्नले नै केदारलाई कीर्तिपुरसम्म ल्याइपुर्याएको हो । कीर्तिपुर रंगमञ्च एकदमै ठूलो योजनाका साथमा खुलेको बताउँछन् उनी । भन्छन्, ‘कीर्तिपुर रंगमञ्च हामी नभए पनि सधैँ रहिरहोस् भनेर स्थापना गरेका हौँ ।’ 

थिएटर मल अर्गनाइजेसनको मुख्य हलको नाम कीर्तिपुर रंगमञ्च राखिएको छ । त्यसकै माथिल्लो तल्लामा ‘चिल्ड्रेन थिएटर’ भनेर अर्को नाटकघर खुल्ने उनी बताउँछन् । उनले ६–७ महिनाभित्र यो थिएटर तयार गर्ने गरी तयारी गरिरहेका छन् । त्यसैगरी, अर्को विल्डिङमा एक वर्षभित्र ठूलो कला प्रदर्शनी गरेर आर्ट ग्यालरी सञ्चालन गर्ने योजना छ । त्यही भवनको एउटा सानो हलमा प्लेब्याक थिएटर सुरुवात गर्ने योजनासमेत छ उनको ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्