logo-img

रूपातालको किनारमा पक्की सडक निर्माण, पर्यटक आगमन वृद्धि हुने अपेक्षा

कास्कीको पोखरा महानगरपालिका र रूपा गाउँपालिकाको बीचमा अवस्थित रूपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ ।

रूपाताल एकीकृत संरक्षण परियोजनाले रूपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो । 

परियोजनाको २३ करोड १० लाख रुपैयाँ लागतमा काम भइरहेको छ । सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा गर्न सहज हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ । 

पोखराका फेवा र बेगनास तालपछि तेस्रो ठूलो तालका रुपमा रहेको रूपातालमा पहुँच सडकको अभावमा पर्यटकीय गतिविधि कम भएपछि सुविधा सम्पन्न पक्की सडक निर्माण थालिएको रूपाताल पुनःस्थापना तथा मत्स्‍य सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । 

निर्माण सम्पन्न भएपछि तालको महत्व अझ बढ्नुका साथै यहाँको पर्यटन प्रवर्द्धन हुने र स्थानीयको आर्थिकस्तर वृद्धि हुने उनको भनाइ छ । पक्की सडकले तालको मुहारका साथै स्थानीयको दैनिकी फेर्ने बताउँदै उनले खुसी व्यक्त गरे । 

‘वि.सं २०५९ मा हामी आफैंले ट्रयाक खोलेको बाटो बनाउन सुरु गरेका हौँ । अहिले पूरै तालको एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी पक्की सडक बन्दा असाध्यै खुसी भएका छौँ । पर्यटकीय गतिविधिसँगै स्थानीयलाई समेत बाटोले फाइदा हुनेछ’, अध्यक्ष अधिकारीले भने । रासस





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया