logo-img

नयाँ र पुराना पुस्ताबीच ग्याप देखियो : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा अझै केही गर्न बाँकी रहेकाले त्यसका लागि राष्ट्रिय एकता र समन्वयको आवश्यकता रहेको बताएकी छन् ।

मधुस्थली फाउन्डेशनले आज आयोजना गरेको वरिष्ठ वामपन्थी चिन्तक गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा दुईवटा वैचारिक प्रभाव रहेकामा एउटाले अर्कोको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढिरहेको तर अर्कोले अस्तित्वको स्वीकार गरेर अगाडि नबढिरहेको स्थिति रहेको औँल्याइन् । 

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय ‘एजेन्डा’मा कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने तब मात्र देशलाई अगाडि बढाउन सकिने धारणा राखिन् । उनले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक खुराक दिइरहेको वैचारिक नेताका रूपमा आफूले चिनेको बताइन् ।

गोविन्दराज ज्ञवालीले वामपन्थी एकताका लागि मात्र नभइ, वाम शक्ति र प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन खेलेको भूमिकालाई इतिहासले उच्च मूल्याङ्कन गर्ने उनको भनाइ थियो ।  



पूर्वराष्ट्रपति भण्डारीले टुटफुटले आक्रान्त नेपालको कम्युनिष्ट आन्दोलनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (साहना समूह) र मनमोहन समूहलाई २०४२ सालमा एक गराएर नेकपा (मार्क्सवादी) निर्माण गर्न र तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (माले) लाई मिलाएर नेकपा (एमाले) को निर्माण गर्न गोविन्द ज्ञवालीको अहम् भूमिका रहेको उल्लेख गरिन् ।

‘उहाँले कम्युनिष्ट राजनीतिक दललाई एक ठाउँमा उभ्याउनु भएको थियो । त्यसको साथै अर्को वैचारिक पक्षमा उभिएका साथीहरूलाई राष्ट्रिय मुद्दामा ल्याउने अनवरत प्रयास गरिरहनु भएको छ,’ उनले भनिन् । 



उनले अग्रज पुस्ता र नवपुस्ताबीचको दूरी कम गर्न समन्वय गर्नुपर्नेमा जोड दिइन् । ‘इतिहासको जानकारी नलिँदा नवपुस्ताहरू र पुराना पुस्ताबीच ग्यापजस्तो देखिन्छ । त्यो ग्याप मेटाउन यो कार्यक्रम कडीका रूपमा रहेको छ,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘ज्ञवालीले समाजलाई दिएको योगदानलाई समेट्ने र भावी पुस्तासमक्ष राखिदिने कर्तत्व हो । अहिले त्यो काम भएको छ । यसलाई निरन्तरता दिनुपर्दछ । पूर्व र पश्चिमका व्यक्तित्वबीच पनि अन्तरसम्बाद हुनुपर्दछ ।’ 



  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया