logo-img

समाचार टिप्पणी : भैँसीको शरीरमा झिँगाको लात्ती

महात्मा विदुरले हजारपल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह बन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरिरहन्थे । 

बदलाको विषको घैला बोकेर हस्तिनापुर प्रवेश गरेका गान्धार नरेश शकुनी भाञ्जा दुर्योधनको महत्वाकांक्षामा मलजल गर्न किञ्चित् पनि विलम्ब गर्दैन थिए । दिदी गान्धारीलाई नेत्रहीन राजाकी पत्नी बनाउन मुख्य भूमिका खेलेका भीष्मको प्रतिज्ञासँग परिचित शकुनी कौरव र पाण्डवका कमीकमजोरीबारे मनग्य जानकार थिए । 

शकुनीको कुटिल चाल भलीभाँति अवगत भएका विदुर महाविपत्ति बोकेर हस्तिनापुरतिर बढिरहेको भविष्य देखिरहेका थिए । त्यसैले कसै गरेर राजालाई त्यसको सहयोगी नबन्न उनी हरतरहले रोक्ने प्रयास गरिरहन्थे । उनीसँग यसमा सहयोगी हुन कोही पनि साथमा थिएन । महाज्ञानी भविष्यद्रस्टा भीष्म पितामह जानीजानी स्वयं विनाशकै पक्षमा थिए । उनी अहंकारी दुर्योधनको महारथी हुन आफ्नै वचनवध्दताले विवश थिए, असत्यको पक्षमा उभिन । विदुर सही छन् भन्ने जान्दाजान्दै पनि भीष्म पितामह दोबाटोमा उभिन विवश थिए । 

विदुर महाराज धृतराष्ट्रको मुख थुन्न त सक्दै थिए । बरु परित्याग गर्न सक्थे दरबार, गरे पनि । यो उनको कठोर निर्णय थियो । विदुर हस्तिनापुर दरबारबाट सदाका लागि विदा भएको विष्मयकारी खबर कानमा परेपछि गंगापुत्र भीष्मले सिंहाशनमै बसेका राजा धृतराष्ट्र झपारेर सातो टिपे । 

निरुपाय धृतराष्ट्र आफ्ना काकाबाउको खप्की खाएपछि दरबार त्यागेर वनवासमा रहेका पाण्डुपुत्रहरू कहाँ पुगेका विदुरलाई फर्काउन तयार भए । हस्तिनापुर नरेश धृतराष्ट्रले कसैले दिएको सुझाव स्वीकार गरेको यो एकमात्र घटना थियो । जो उनकै लागि अनिवार्य थियो, विकल्पहीन थिए उनी । विदुर उनका महामन्त्री मात्र थिएनन्, आउने जाने श्वास पनि थिए । विदुर हस्तिनापुर दरबारका मेरुदण्ड नै थिए । जसले तमाम संकट सहजै पार लगाएका थिए, केवल धर्मक्षेत्र कुरुक्षेत्रको रक्तरञ्जित युध्दबाहेक ।

हजारौं वर्ष पुरानो महाभारत कथा समाजशास्त्र मानिन्छ । राजनीतका कुटिल षड्यन्त्र र चालबाजीको प्रेरणा स्रोत पनि महाभारत नै ठानिन्छ । वर्तमान राजनीतिमा पनि शकुनी गुण भएका मानिसहरू नै सफल भएका छन् । चौसठमा बसेका धृतराष्ट्र र उनका भाईबन्धुहरू पराजित भइरहेका छन् । सत्ताको हस्तिनापुर सिंहाशनमा विराजमान हुन असमर्थ पाण्डुपुत्रहरू वनबासमै रुमल्लिरहेका देखिन्छन् । शकुनीकै चलखेल छ राजनीतिमा ।



मर्यादा राजनीतिको आभूषण मानिन्छ । जनमतले जुन स्थान दिएको छ त्यस स्थानमा मर्यादापूर्वक बसेर स्वधर्म निर्वाह गर्नु राजनीतिको स्वभाविक कर्म हो भनिएको छ । छुद्र टिप्पणी, मर्यादाहीन वहस र निन्दा आलोचना राजनीतिका आवश्यक तत्वहरू होइनन् । आज यसैलाई रुचाइएको देखिन्छ । सरकारको नेतृत्व गरिसकेका कतिपय नेताहरु मर्यादाको उतिसारो ख्याल गरिरहेका छैनन् । गाउँको अगुवा मानिएका व्यक्तिहरू नै बाटामा जथाभावी शौच गर्दै हिँड्छन् भने उनका पछिपछि हिँड्ने मानिस उसैगरी पदचाप पछ्याउन थाल्दछन् । यसले सिंगो समाजलाई नै छाडा बनाउनसक्छ । छाडा समाज थेत्तर हुन्छ । जहाँ थेत्तर चरित्र भएका मानिसको आवादी बढी हुन्छ त्यो समाज मानिसहरू बसेको समाज मानिँदैन ।  

हाम्रो देशका नेताहरूमा यस्तो संवेदनशीलता पाउन सकिँदैन । के बोल्न हुन्छ के बोल्न हुँदैन भन्ने मान्यता र विभेद उनीहरूको चेतनाको परिधिभन्दा निकै पर रहेको आभास हुन्छ । त्यस्तो थेत्तरो स्वभाव र प्रवृत्ति भएका नेताहरूलाई सचेत गराउन वौद्धिक वर्ग, सञ्चारमाध्यम र महाभारतका विदुर जस्ता शुभचिन्तकले प्रत्यक्षपरोक्ष रुपमा सुझाउसल्लाह दिँदा उनीहरू भड्किने गरेका छन् । उल्टै सार्वजनिक सभाहरूमा शुभचिन्तकहरू कटाक्षको सिकार भइरहेका छन् ।



संसद नै हेरौं, संसद किन संसद जस्तो भइरहेको छैन त ? संसदमा पनि कुनै अदृश्य शक्ति अवतरण गरेर नेतृत्व गर्ने त होइन नि । राजनीतिक दलहरू नै संसदका अंग हुन् । उनैले चुनेको नेता संसदको मुखिया बन्छ र दलीय सीमामाथि उठेर संसद सञ्चालन गर्छ भन्ने मान्यता रहिआएको छ । तर जुनसुकै दलहरू सत्ता प्रतिपक्ष र अन्य भूमिका हेरफेर भएपनि संसदले मर्यादाको आभूषण पहिरन पाएको देखिँदैन ।

यहाँ पनि विदुर निरीह देखिन्छन् । जो जसले विदुरको भूमिका निर्वाह गरेका छन् उनीहरू हस्तिनापुरबाट अपमानित भएर निस्किएका छन् । नेपालको राजनीतिमा यही नियति दोहोरिँदै आएको छ । सत्ताको नेतृत्वमा पुगेका कृष्ण प्रसाद भट्टराई हुन् कि मनमोहन अधिकारी हुन् । नेपाली कांग्रेस र एमालेले दुवै नेताको मानमर्दन गरेका छन् । राजनीतिमा अत्यन्त नकारात्मक उदाहरण देशका मुख्य दुई दलहरूले नै स्थापित गरेका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन साह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बीच हालै चलेको वाकयुद्ध अमर्यादाको ताजा उदाहरण हो । ओलीलाई चर्चित अनियमितताको घटनासँग जोडेर आलोचना गर्ने अवसर महानगर प्रमुख साहले पाएका छन् । यसको सोझो जवाफ वा खण्डन गर्ने नैतिक साहस ओलीसँग देखिएन । जनताले दिएको दुर्लभ शक्तिको अपचलन गरेर ओलीले देशकै शिर झुक्नेगरी भएको अनियमिततामा आफूलाई प्रत्यक्ष सहभागी गराएको तथ्यहरू एकपछि एक प्रकाशमा आइ नै रहेका छन् ।

यही कारण हो महानगर प्रमुखले एकजना पूर्वप्रधानमन्त्रीलाई सार्वजनिकरूपमा ललकार्न सकेका । तर, ओलीको चलनचल्तीको उखाने जवाफमा भने कुनै तागत देखिएन । राजनीतिको मर्यादा कति तल खसिसकेको छ भनेर नाप्ने यो अर्को उदाहरण हो ।

आफूलाई नै अन्तिम सत्य मान्ने र अरूका तीता सत्यहरू सुन्न पनि नचाहने धृतराष्ट्र चरित्रबाट प्रेरित संघीय लोकतान्त्रिक गणतन्त्रका नेताहरु पुत्र मोह, धन मोह र शक्तिमोहबाट ग्रसित छन् । चर्मचक्षु सबल भएपनि धृतराष्ट्र झैं नेत्रहीन बनेका नेताहरु देशलाई हस्तिनापुरको गतिमा पुर्याउन प्रतिस्पर्धा गरिरहेका छन् ।

अभिमानी दुर्योधन र दुस्सासन अनि कुटिल मामा शकुनीको साथमा रहेका अंगराज कर्ण सक्रिय रहेसम्म यहाँ विदुर र सञ्जयको कुनै अर्थ छैन । यस्तो अवस्थामा के नेपालले कुनै वासुदेव कृष्णको अवतरणको प्रतीक्षा गरिरहने हो कि ?

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार १४:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया