नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधीकरण बढेको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘राजनीतिमा अपराधीकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधीकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सिआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधीकरण थुप्रै बढीरहेको छ,’ उनले भने ।
डा. कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको उल्लेख गर्दै भने, ‘हामी विपक्षमा नै बस्ने हो । सरकारमा जाने कुनै सोच छैन । अन्य दलजस्तो हामीलाई हतारो छैन । आउने भए त्यसै आउँछ । कोसिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन ।’
उनले देशको राजनीतिक तरल अवस्थामा रहेको उल्लेख गर्दै आठ तहका सरकार डेढ वर्षमा २३ पटक परिवर्तन हुनु दुर्भाग्यपूर्ण भएकाले दलहरुले गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।
राजनीति र सरकारको स्थिरताविना आर्थिक विकास र सुशासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्ने उनको जोड थियो । नेपाल दुई ठूला देशको बीचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको धारणा थियो ।
अर्को प्रसंगमा डा. कोइरालाले संसदबाट बाफिया ऐन आउन लाग्न लागेको उल्लेख गर्दै एउटै व्यक्ति बैंकर्स, बिमाको मालिक, व्यावसायी, उद्यमी हुन नसक्ने, लोकतान्त्रिक नहुने भएकाले यसलाई परिमार्जन गरेर जानुपर्ने औँल्याए ।
उनले नेपाल बैंक लिमिटेड राजनीति र व्यवस्थापकीय कमजोरीका कारण केही समस्या आएको भए पनि नेपालमा ठूला व्यापारीका लागि व्यवसायिक अभिवृद्धिका लागि ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले बैंकको भूमिकाको प्रशंसा गर्दै भविष्य उज्वल रहेको औँल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।