logo-img

पढ्दै-कमाउँदै : मल बनाउँदै, किबी फलाउँदै

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्रांगारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू भएपछि प्रांगारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन् । 

प्रांगारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्रांगारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन् । विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा ०६८ मा परीक्षणका लागि किबी रोपिएको थियो । उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ । 

त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको विद्यालयका प्रधानाध्यापक कमला थापाले जानकारी दिइन् । ‘संस्थागत रुपमा किबी खेती बागलुङमै पहिलोपटक लगाइएको रहेछ, तीन रोपनी जग्गामा लगाइएको किबी उत्पादन भएपछि अभिभावकले खरिद गर्छन्,’ थापाले भनिन्, ‘पछिल्लो एक वर्ष पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि प्रांगारिक मलसमेत विद्यार्थीले विद्यालयमै उत्पादन गर्दै आएका छन् ।’

कुहिने झारपातलाई दुई महिनासम्म माटोमा गाडेर मल तयार गरिन्छ, उक्त मलबाट किबी फल र तरकारी खेती गर्दै आइएको उनले जानकारी दिइन् । 



प्रांगारिक मल उत्पादन गर्ने जिम्मा कक्षा ९ लाई दिइएको छ । किबीको हेरचाह गर्ने जिम्मा १० कक्षालाई छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले गत वर्ष च्याउसमेत उत्पादन गरेका थिए । विद्यार्थीले उत्पादन गरेको फलफूल र तरकारी बिक्रीबाट कक्षा ८ देखि ११ सम्मका विद्यार्थीले शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको प्रधानाध्यापक थापाको भनाइ छ । 

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुरुआती चरणमा धेरै आम्दानी गर्न नसके पनि कम्तीमा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री खरिद गर्न सक्ने भएको यनले बताइन् । 

विज्ञान विषयको प्रयोगात्मक शिक्षाका लागिसमेत किबी बगैँचा भरपुर उपयोग भइरहको विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या बताउँछन् । विद्यार्थीलाई परागसेचनको विषयमा किबी खेतीबाट राम्रो शिक्षा दिन सजिलो भइरहेको पच्याको भनाइ छ । 

कक्षा ९ का विद्यार्थीले विद्यालय परिसरमा मौसमी तरकारी  खेतीसमेत गर्दै आएका छन् । अहिले सिमी लगाइएको छ । वार्षिक दुई सय केजीसम्म किबी बिक्री हुने गरे पनि अन्य किबी विद्यार्थी र शिक्षकले उपभोग गर्दै आइरहेका छन् । विद्यालयको कृषि कर्मले घरमासमेत परिवारलाई सघाउन सहयोग पुगेको कक्षा ११ मा अध्ययनरत विद्यार्थी दीपेश विकले जानकारी दिए । 



०३६ मा स्थापना भएको उक्त विद्यालयमा हाल दुई सय ७८ विद्यार्थी अध्ययनरत छन् ।

  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया