‘नख्खु विस्फोटका योजनाकार’ हेमन्तप्रकाश ओलीबारे छोरी विपनाः मेरा बुवा निर्दोष हुनुहुन्छ, उहाँलाई फसाइयो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका  यसअघिका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओली अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि नख्खुमा बम विस्फोटको योजना बनाएको आरोप प्रहरीले लगाएको छ । उनीमाथि अनुसन्धान भइरहेको छ । केही अघि उनकी छोरी विपना ओलीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । तर, सर्वोच्चले उनको रिट खारेज गरिदियो । त्यसको केही दिनपछि फरक धारको सम्पर्कमा आएकी विपनाले आफ्ना बाबुबारे बताइन्ः

 

बुबा पार्टीमा मध्यक्षेत्रीय कमान्डर मात्र होइन, पार्टी केन्द्रीय प्रशिक्षण विभागको प्रमुख पनि हुनुहुन्थ्यो । उहाँलाई प्रहरीले चैत ९ गते पक्राउ गर्यो । त्यति बेला म खाना खाएर अफिस जाने तयारीमा थिएँ । बुवा पक्राउ पर्नुभएको समाचार सुनेँ । सुन्नेवित्तिकै मलाई निकै नरमाइलो लाग्यो । 

केही दिनअघि नख्खुमा बम विस्फोट भएको थियो । त्यही विस्फोटको मुख्य योजनाकार भनेर बुवालाई प्रहरीले पक्राउ गरेको रहेछ । बुवा राजनीतिमा हुनु भएकाले उहाँबारे समाचार आइरहेका हुन्छन् । झन्, बुवाको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । तर, उहाँ पक्राउ नै पर्नुहोला भन्ने मैले सोचेकी थिइनँ । त्यसैले पनि उहाँ पक्राउ परेको समाचार सुन्दा नरमाइलो लाग्यो । यस्ता समाचार सुन्दा मेरो मन नै अमिलो हुन्छ । 

झन्, अहिले कतिपय मिडियाले भए नभएका कुरा लेख्छन्, अनि मेरो मन झन् कुँडिन्छ ।

बुवा पक्राउ परेपछि हामी सबै परिवारका सदस्य भेट भयौँ, हामीलाई नरमाइलो लाग्यो, निराशा छायो । पक्राउ परेपछि बुवालाई भेट्न हामीले गरेका सबै प्रयास निरर्थक भए, प्रहरीले हामीलाई बुवालाई भेट्न दिएन । 



तर, भोलिपल्ट हामीले बुवालाई भेट्न पायौँ । सरकारले कडा कारवाही गर्ने नीति लिएको रहेछ, यता घरमा ममी आत्तिनु भएको थियो । अहिले पनि ममी निकै आत्तिनु भएको छ । म त ममीलाई सम्हाल्न खोज्छु तर निर्दोष हुँदाहुँदै पनि, राजनीतिमा लागेर नेपाली समाजको उत्थान गर्छु भन्ने मेरो बुवालाई सरकारले पक्राउ गरेको छ, यसले हामीलाई झन् निराश बनाएको छ । 

त्यसमाथि मैले दिएको रिट पनि सर्वोच्चले खारेज गरिदियो । 



यी सब घटनाले मेरो मनमा विगत सरसर्ती घुमेको छ । मैले बुवाबारे धेरै सोच्न थालेकी छु । 

मेरो बुवा इमान्दार व्यक्ति हुनुहुन्छ, उहाँ विद्वान हुनुहुन्छ ।  उहाँ त आफ्नो बारे सोच्ने होइन, देश र समाजबारे सोच्ने मान्छे हुनुहुन्छ, देश र यो समाज, हामी नेपालीबारे सधैं चिन्तित हुनुहुन्छ ।

देशको चिन्ता बोकेर हिँड्ने, दार्शनिक कुरा गर्ने मेरा बाबुले देशको अहितमा काम पक्कै गर्नु भएको छैन । बरु उहाँ त देशको विकास र समृद्धि, समाजको उत्थान र अहिलेको समस्याको हल गर्ने विषयमा कुरा गर्नुहुन्छ । 

विपना ओलीमसँग भेट्दा बुवा देशको यो परिस्थिति देखेर निकै चिन्तित हुनुहुन्थ्यो । भद्र र शालीन व्यक्तित्वका धनी मेरा बुबामा व्यक्तिगत स्वार्थ केही थिएन, देशप्रतिको मायावाहेक उहाँमा केही छैन । मसँग भेट्दा पनि बुवा देशमा बढेका महिला हिंसाका घटना, बलात्कार तथा अराजकता र हत्याहिंसाको विषयमा कुरा गर्नुहुन्थ्यो, यी कुराहरुलाई कसरी न्युनिकरण गर्ने भन्नेमा उहाँको चिन्ता थियो । 

अहिले सरकारमा जुन पार्टी छ, त्यही पार्टीमा मेरो बुवा पनि हिजो हुनुहुन्थ्यो । उहाँहरु नेपाललाई नै बनाउने भनेर युद्धमा होमिनु भएको थियो । त्यति बेला त म सानै थिएँ, मेरो बुवा देशका लागि जेल परिसक्नु भएको थियो । पछि उहाँले जेल ब्रेक गर्नुभयो । बुवाले जेल ब्रेक गरेर बाहिर त आउनु भयो तर हामीमा डर यथावत् थियो । 

त्यति बेला त म सानो थिएँ, के हुँदैछ, किन हुँदैछ भन्ने मलाई थाहा नै हुँदैनथ्यो । अब ममा केही भए पनि चेतना आएको छ, राजनीति पनि थोरबहुत बुझ्न थालेकी छु । 

तर, अहिले पनि देशको अवस्थामा केही परिवर्तन आएको छैन । परिवर्तन आएको भए अहिले पनि मैले मेरो बुवा भेट्न यस्तो समस्या भोग्नु पर्ने थिएन । 

म अलिक ठूलो भएपछि बुवाले आफूले गरिरहेको राजनीतिबारे पनि सुनाउन थाल्नुभयो । उहाँ राजनीतिमा जे भनेर होमिनु भएको थियो, हामीलाई त्यसबारे सुनाउनुहुन्थ्यो ।  बुवा राजनीतिमा भएकाले हाम्रो परिवारमा पनि विस्तारै राजनीतिक वातावरण बन्न थाल्यो ।

हामीले परिवारमा कहिलेकांही बुवाको स्वास्थ्यबारे पनि चर्चा गरिरहेका हुन्छौँ । तर, बुवा आफ्नो स्वास्थ्यलाई पनि नजरअन्दाज गर्दै राजनीतिमा होमिनुहुन्छ, नेपाली समाजका लागि केही गर्छु भनेर लाग्नुहुन्छ । बुवालाई डायबिटिज छ, बुवालाई प्रेसर छ, बुवाको स्वास्थ्य उति राम्रो छैन । तर, उहाँ यी कुराहरु बेवास्ता गर्नुहुन्छ र देशका लागि केही गर्छु भनेर अगाडि बढ्नुहुन्छ । 

बुवा राजनीतिमा भएकाले हामीले धेरै समय उहाँसँग बिताउन पाएका छैनौँ । हामीलाई हुर्काउने श्रेय ममीलाई जान्छ । जस्तोसुकै समस्यामा पनि ममीले हामीलाई समय दिनु भयो, उहाँसँग नै हामी हुर्कियौँ । 

बुवा म सानै हुँदा पनि राजनीतिमा होमिएकाले उहाँसँग मैले त्यस्ता अविस्मरणीय क्षणहरु बिताउन पाएकी छैन । बसेर सुखदुःखका कुरा गर्न पाएकी छैन । तर, बुवा जुन उद्देश्यमा हुनुहुन्छ, त्यसले हामीलाई पक्कै पनि सुखदुःखका कुरा गर्ने समय जुराउनेछ भन्नेमा म विश्वस्त छु । 

हो, यही कारणले बुवाबारे मसँग धेरै गुनासा पनि छन् । तर, पनि म के कुरामा खुसी नै छु भने बुवाले मेरालागि समय निकाल्न नसक्नु भएको हो, परिवारभन्दा देशका लागि उहाँले धेरै समय दिनु भएको छ । देश बन्यो भने हामी त्यसैमा खुसी हुनेछौँ ।  

बुवा अहिले प्रहरी हिरासतमा हुनुहुन्छ । योबीच मैले बुवालाई पाँच पटक भेटेकी छु । आज म सार्वजनिक रुपमा भन्न चाहन्छु– बुवा तपाईं कहिल्यै निराश नहुनुहोस्, तपाईंले देश बनाउने अभियान रोज्नुभएको छ, हामी तपाईंको साथमा छौँ । 

हो, मेरो बुवालाई फसाइएको छ तर यसले हामीलाई र बुवालाई विचलित बनाउने छैन ।

(विपना ओलीसँगकाे कुराकानीमा आधारित) 
 

  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १२:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया