काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक ९ गते बस्ने तयारी छ । पार्टीका एक नेताका अनुसार त्यो दिनसम्म पार्टी एकताको विषयमा टुंगो लागिसक्ने र सचिवालय वैठक बसेर एकतालाई अन्तिम रूप दिने तयारी गरिएको हो । यो सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिने तयारी भएको बालुवाटार स्रोतले फरक धारसँग बतायो ।
लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन पार्टीको संगठनात्मक एकता टुंग्याउने तयारी गरिएकाले यो बैठकको सोच बनाइएको हो । यसका लागि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसहित नेताहरु अनौपचारिक संवादमा जुटेका छन् ।
एकता प्रक्रियामा असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालसँग ओली र प्रचण्डले एकल तथा सामूहिक रूपमा संवाद गरिरहेका छन् ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि फरकधारसँग कुराकानी गर्दै यसको पुष्टि गरेका छन् । उनले ९ वैशाखभित्र सबै प्रक्रिया सकिने बताएका छन् ।
‘अन्तिम चरणको छलफल चलिरहेको छ । शीर्ष नेतृत्व आन्तरिक गृहकार्यमै हुनुहुन्छ,’ नेता पौडेलले भने, ‘९ वैशाखभित्रमा टुंगो लगाएर पार्टी एकताको घोषणा हुन्छ ।’
बालुवाटारको सरकारी जग्गा खरिदबिक्रीमा पार्टी महासचिव विष्णु पौडेलको नाम जोडिएपछि पार्टीभित्र विवाद बढेको पनि स्रोतको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।