logo-img

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी नगराएको भन्दै कांग्रेस रुष्ट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्र प्रमुखको विदेश भ्रमणबारे सदनमा जानकारी गराउने न्यूनतम मर्यादा समेत सरकारले पूरा नगरेको प्रति असन्तोष जनाउँदै सरकारसँग यसको कारण स्पष्ट पार्न माग गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमणबारे सरकारले सदनलाई जानकारी नगराएकोमा सरकारसँग कांग्रेसले जवाफ माग गरेको हो । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहाललाई भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन गएकोमा धन्यवाद व्यक्त गरेको छ  । तर, दाहालले भारत भ्रमणबारे सदनमा जानकारी नगराएको प्रति भने उनले त्यसलाई सदनको दुर्भाग्य भनेर आलोचना गरे । 

दाहालले भ्रमणबाट फर्किएको पाँच दिनसम्म पनि सदनलाई जानकारी नगराएको प्रति जवाफ माग गर्दै नेता लेखकले भने, ‘प्रधानमन्त्रीजी यो सदनमा उपस्थित भएर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुहोला र सदनले पनि थाहा पाउला भनेर हामी पाँच दिनसम्म कुरेर बसेका थियौँ । तर, उहाँ पाँच दिन भइसक्दा पनि आउन सक्नु भएन, मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो,’ लेखकले भने, ‘प्रधानमन्त्री यो सदनको नेता हो । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाइनाले र पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ, यो सरकारको दुर्भाग्य हो कि मेरो सौभाग्य ?’

देशका कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति जस्तो व्यक्ति विदेश भ्रमणमा जाँदा सदनलाई जानकारी नगराउनु दुर्भाग्य भएको सांसद लेखकले बताए । उनले भने, ‘सरकारका कारणले संसदको न्यूनतम गरिमा र मर्यादा पनि कायम गर्ने काम भएन, यसका प्रति कांग्रेस खेद व्यक्त गर्दछ ।’ 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया