भारतीय लोकसभा निर्वाचन : युवानेता हार्दिक पटेलले किन खाए थप्पड ?

नयाँदिल्ली– कांग्रेस नेता हार्दिक पटेल शुक्रबार गुजरातको सुरेन्द्रनगरमा चुनावी जनसभालाई सम्बोधन गरिरहेका थिए । अचानक एक व्यक्ति मञ्चमा उक्लिए र हार्दिकलाई थप्पड हाने । हार्दिकका समर्थकले ती व्यक्तिलाई समातेर पिट्न थाले । प्रहरीले उनलाई जसोतसो जोगाएर बाहिर निकाल्यो र हिरासतमा लियो । 

थप्पड हान्ने व्यक्ति थिए, महेशाणा जिल्लाका तरुण गज्जर । हिरासतमा उनले हार्दिकलाई थप्पड हान्नुको कारणबारे बोले– ‘पाटीदार आन्दोलनका बेला मेरी पत्नी गर्भवती थिइन् । उनको अस्पतालमा उपचार भइरहेको थियो । त्यसबेला मैले पटेलहरुको आन्दोलनका कारण ज्यादै मुस्किल व्यहोर्नुपरेको थियो । त्यतिखेरै मैले निश्चय गरेको थिएँ कि म यो मान्छेलाई पिट्नेछु । यसलाई जुनसुकै हालतमा सबक सिकाएरै छाड्नेछु ।’

हार्दिक पटेल गुजरातको आरक्षण नीतिविरुद्ध २०१५ को जुलाईदेखि चलेको पाटीदार (पटेल) आन्दोलको नेतृत्वकर्ता हुन् । पटेलहरुलाई ‘अन्य पिछडा वर्ग’मा राख्नुपर्ने मागसहित महिनौँसम्म चलेको आन्दोलनमा २०० करोड भारतीय रुपैयाँभन्दा बढीको सार्वजनिक सम्पत्ति नष्ट भएको थियो । १४ जनाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । 

सोही आन्दोलनबाट चर्चामा आएका हार्दिक जारी लोकसभा निर्वाचनअघि १२ मार्चमा कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसले उनलाई सबैजसो गुजराती सभामा लोकप्रिय युवानेताका रुपमा प्रस्तुत गरिरहेको छ । यद्यपि, गुजरात हाइकोर्टमा चलेको मुद्दाका कारण उनले यसपटक चुनाव लड्न भने पाएनन् । 

‘अहमदावादमा हार्दिकको र्यालीका दौरान म आफ्नो बच्चाको लागि औषधि किन्न गएको थिएँ । त्यतिबेला सबथोक बन्द थियो,’ थप्पड हान्ने तरुणले आन्दोलनका दिन सम्झँदै प्रश्न गरे, ‘ऊ सडक बन्द गरिदिन्छ, ऊ जतिखेर मन लाग्यो गुजरात बन्द गरिदिन्छ । ऊ को हो ? ऊ गुजरातको हिटलर हो ?’ 



पाटीदार आन्दोलनमा मारिएका १४ युवकको मृत्युको जिम्मेवार हार्दिकलाई ठहर्याएका तरुणले आफूले आफ्नै विवेकले उनलाई थप्पड हानेको बयान दिएका छन् । तर, हार्दिकले भने भाजपाले उनलाई आफूविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । 

थप्पड खाएपछि पत्रकारहरुसँग कुरा गर्दै हार्दिकले आफूलाई तर्साउन भाजपाले षड्यन्त्र गरेको आरोप लगाए । थप्पड हान्ने व्यक्ति स्थानीय नभई बाहिरी भएको उनको आरोप छ । भाजपाले आफ्नो ज्यानै मार्ने कोसिस गरिरहेको भन्दै उनले आफू पनि चुप लागेर नबस्ने चेतावनी दिएका छन् । घटनाबारे हार्दिकले प्रहरीमा उजुरी दिएका छन् । 



  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार ११:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया