शुल्क वैज्ञानिक ढ‌ंगले बढ्नुपर्छ, अभिभावकको ढाढ सेक्नेगरी होइन : सुप्रभात भण्डारी

काठमाडौ‌ं– नेपाल अभिभावक महासंघका केन्द्रीय संयोजक सुप्रभात भण्डारीले निजी विद्यालयहरूले अभिभावकको ढाढ सेक्नेगरी शुल्क बढाउन नहुने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शुल्क बढाउँदा वैज्ञानिक तबरले बढाउनुपर्नेमा जोड दिए  । 

विद्यालय भर्नासँगै भर्ना भएकालाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने भण्डारीले बताए । शुल्कवृद्धिको नाममा अभिभावकको ढाड सेकाउन र शोषण गर्न नहुने उनको भनाइ छ । 

शिक्षा नीति बलियो हुनुपर्ने भन्दै उनले भने, ‘शिक्षा क्षेत्रमा देखिएका सबैखाले विकृति र विसंगति रोक्नुपर्छ ।’ 

शिक्षामा सरकारले बजेट कम विनियोजन गरेकोमा उनले गुनासो पोखे । विद्यालय भर्ना अभियानकै प्रसंगमा उनले चैत–वैशाखको समयलाई ‘अभिभावकको लागि दशा र निजी विद्यालयहरूलाई दसैँ’को संज्ञा दिए । 

कार्यक्रममा बोल्दै हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरू लाग्नुपर्नेमा जोड दिए । 

विद्यालय भर्ना अभियान वर्षौंदेखि चलिरहेको भन्दै उनले यसलाई मौसमी अभियान बनाउन नहुने बताए । 



उनले भने, ‘यसबारेमा राज्यले, खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ भर्ना अभियानमा सबैले अपनत्व लिनुपर्ने उनको भनाइ छ । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आए पनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरे । विद्यालय भर्ना भएकाहरूलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको धारणा छ । 



  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार १२:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया