पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कन लागेकाे विषयले अहिले राजनीतिक वृत्त तरंगित भएकाे छ । केही दिनयता उनले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेकाे भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेकाे छ । दुई कार्यकाल राष्ट्रपति भएर पदबाट बिदा भइसकेपछि उनले सरकारले पूर्वराष्ट्रपतिलाई दिने सेवासुविधा नलिएकाे बताइएकाे छ । सरकारबाट पाउने सेवा सुविधा नलिनुले पनि भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कन चाहेकाे रूपमा व्याख्या हुँदै आएकाे छ ।
कतिपयले कानुनले कतै बन्देज नलगाएकाले पार्टी सदस्यता लिन पाउने भण्डारीकाे अधिकार भएकाे भन्दै समर्थन गरेका छन् भने अधिकांशले राष्ट्रप्रमुख भइसकेकाे व्यक्तिले पूर्वराष्ट्रपति पददकाे गरिमा जाेगाउन नसककेकाे भन्दै उनकाे आलाेचना गरेका छन् । आफूले एमालेकाे सदस्यता नवीकरणा गरेकाे या नगगरेकाे भन्ने विषयमा पूर्वराष्ट्रपति भण्डारीका तर्फबाट कुनै प्रतिक्रिया आइसकेकाे छैन ।
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लाे समय एमालेका केही कार्यक्रममा सहभागिता जनाइरहेकी छिन् । केही स्राेतले उनले एमालेकाे पार्टी सदस्यता नवीकरण गरिसकेकाे दाबी गरेका छन् । असारसम्म सबै पार्टी सदस्यको सदस्यता नवीकरण सूचीकृत गर्नुपर्ने भएकाले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको अभिलेख सार्वजनिक नगरी एमालेकाे केन्द्रीय कार्यालयमा राखिएको स्राेतकाे दाबीछ ।
उनको सदस्यता नवीकरण भएपछि एमालेको सक्रिय राजनीतिमा फर्किने निश्चित भएको एमालेका नेताहरूले नै बताउन थालेका छन् । एमालेकाे केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले भने त्यसमा सत्यता नरहेको बताएका छन् । उनले पार्टीकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको सदस्यता अहिलेसम्म स्वीकृत नभएको दाबी गरेका हुन् ।
यद्यपि ढुंगेलले आफू विकास भएको राजनीतिक पार्टी नेकपा (एमाले)को स्थायी अभिभावक हुने अधिकार पूर्वराष्ट्रपतिसँग सुरक्षित रहेकाे दाबी गरेका छन् । एमाले नेतृ भएकैले राष्ट्रपति बनेको तर्क गर्दै उनले पदीय जिम्मेवारीका कारण मात्रै पार्टीबाट अलग बस्नुपरेको बताएका छन् ।
उनले भनेका छन्, ‘विद्या भण्डारी नेकपा (एमाले) नेतृ भएर नै राष्ट्रपति बन्नुभएको हो । पदीय जिम्मेवारीले अलग रहनु पर्यो, उहाँ अलग हुनुभयो । सिंगो देश, नेपाली जनता र आफू विकास भएको राजनीति पार्टी नेकपा (एमाले)को स्थायी अविभावक हुने अधिकार उहाँसँग सुरक्षित छ ।’
तर आवश्यकताले माग गरेमा भण्डारी राजनीतिमा फर्किने कुरामा आफू विश्वस्त रहेको बताउँदै ढुंगेलले अब कसैको भाग खोस्न या बेथिति निम्त्याउन सक्रिय राजनीतिक जीवनमा नफर्किने दाबी गरे । उनले भनेका छन्,‘राजनीतिक सक्रियताको निर्णय गर्ने उहाँको आफ्नो व्यक्तिगत विषय पनि हो । हालसम्म उहाँले पार्टी सदस्यता नवीकरण गर्नु भएको छैन ।’
यदि भण्डारीले नवीकरण गर्ने इच्छा गरेमा उनकाे सदस्यता नवीकरण हुने ढुंगेलले बताएका छन् । ‘यो लुकेर गर्ने विषय पनि होइन । यदि नवीकरण गर्ने इच्छा गर्नु भयो भने उहाँको सक्रियता नि:सन्देह एमाले पार्टीमै हुनेछ, यो त सबैलाई थाहा भएकै कुरा हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।