logo-img

मर्चवारमा बहुउद्देश्यीय सडक निर्माण, स्थानीयमा खुसियाली

रूपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देश्यीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाख रुपैयाँको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो ।

बहुउद्देश्यीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् । ‘सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ’, कोटहीमाई–४ का रामबचन यादवले भने, ‘अब हिउँद र बर्खामा पनि आवत-आवत गर्न समस्या हुने छैन ।’

स्थानीयवासी जगदिश वर्माले सडकले सिँचाइ र जल निकाससमेतको उचित प्रबन्ध गरेको, वडा नं ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई अन्त्य गरेको बताए । उनले जोतिया, रोपाइँ, सिँचाइ र बाली ढुवानीलगायत कार्यका लागि पनि सडक उपयोगी रहेको जानकारी दिए । 

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निर्माण गरिएको बताए । उनले भने, ‘सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाई निकास दिइएको छ ।’

सडकसँगैको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको उनको भनाइ छ । ‘गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मतसम्भारको योजनासहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ,’ भण्डारीले भने ।  

गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार सडकको निर्माणले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । ‘हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘यसको विशेषता बहुउद्देश्यीय उपयोग हो ।’ 



मुख्य सडकसम्मको सीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताए । अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ । सडक निर्माणले घर–जग्गाको मूल्याङ्कन पनि बढेको उनले बताए । 

‘यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोशेढुंगा हो’, अध्यक्ष तिवारीले भने, ‘यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ । निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्‍याउने देखिन्छ ।’ रासस 



  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया