दक्षिण अफ्रिका नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सुपर–८ को खेलमा आयोजक वेस्ट इण्डिजलाई तीन विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘बी’ को अन्तिम सुपर–८ खेलमा वेस्ट इण्डिजले दिएको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले वर्षाका कारण १७ ओभरमा झारिएको खेलमा ५ बल अगावै ७ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि ट्रिस्टन स्टब्सले २९, हेनरिक क्लासेनले २२, मार्को यान्सले अविजित २१, कप्तान एडन मार्कमले १८ र क्विन्टन डिककले १२ रन बनाए । वेस्ट इण्डिजका लागि रोस्टन चेसले तीन, अल्जारी जोसेफ र आन्द्रे रसेलले दुई/दुई विकेट लिए ।
त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो ।
उसका लागि रोस्टन चेसले अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले तीन चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए । यस्तै, कायल मेयर्सले ३५ र आन्द्रे रसेलले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । यस्तै, कागिसो रबाडा, कप्तान एडन मार्कम, एनरिक नोर्टजे र केशव महाराजले एक/एक विकेट लिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।