logo-img

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको कीर्तिमान

आयोजक वेस्ट इण्डिजलाई तीन विकेटले स्तब्ध पार्दै दक्षिण अफ्रिकाले जारी आइसिसी टी–२० विश्वकप सेमिफाइनलको टिकट सुरक्षित गरेको छ । उसले १० वर्षपछि विश्वकप सेमिफाइनलको टिकट पक्का गरेको हो । 

दक्षिण अफ्रिकाले अन्तिमपटक सन् २०१४ को विश्वकप सेमिफाइनल खेलेको थियो । उक्त सेमिफाइनलमा ऊ भारतसँग ६ विकेटले पराजित भयो । त्यसपछिको तीन विश्वकपमा दक्षिण अफ्रिकाको प्रदर्शन साधारण रह्यो । तर, यसपालि भने उसले दमदार प्रदर्शन गरेको छ ।

एडन मार्कम नेतृत्वको दक्षिण अफ्रिका जारी विश्वकपमा अपराजित छ । ऊ सात खेल खेल्दा अपराजित रहेको हो । योसँगै दक्षिण अफ्रिकाले इतिहास रच्यो । ऊ अब टी–२० विश्वकपमा लगातार सात खेल जित्ने पहिलो टिम बनेको छ । यसअघि टी–२० विश्वकपमा सन् २००९ मा श्रीलंका तथा अस्ट्रेलियाले २०१० र २०२१ मा ६/६ खेल जितेका थिए ।

यसपटक दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई चार विकेट, बंगलादेशलाई चार रन र नेपाललाई एक रनले हराएको थियो । यस्तै, उसले सुपर–८ मा अमेरिकालाई १८ र इंग्ल्याण्डलाई ७ रनले हरायो । 



दक्षिण अफ्रिका अब समूह विजेताको हैसियतामा सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ बाट दक्षिण अफ्रिकासँगै डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले सेमिफाइनलको यात्रा गर्‍यो ।

दक्षिण अफ्रिका अहिलेसम्म टी–२० विश्वकपको फाइनलमा पुगेको छैन । यसपालि ऊ सानदार लयको फाइदा उठाउँदै इतिहास रच्ने योजनामा छ । दक्षिण अफ्रिकाले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता टिमको सामना गर्नेछ ।



समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको टुंगो लागिसकेको छैन । अहिलेसम्मको तालिका हेर्ने हो भने यो ग्रुपबाट भारतले सेमिफाइनल खेल्ने लगभग पक्का छ । ऊ दुई खेलबाट चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । भारतले सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्ने तालिका छ । अस्ट्रेलियाले अन्तिम चारमा स्थान बनाउन भारतलाई हराउनुपर्ने स्थिति छ ।

यदि त्यो समीकरण पूरा नभए उसले अफगानिस्तानको हारको कामना गर्नुपर्नेछ । आइतबार अफगानिस्तानसँगको हारले उपाधि दाबेदार मानिएको अस्ट्रेलियालाई तनाव थपिएको हो ।

अब ऊ आफ्नो लक्ष्य हासिल गर्न सोमबार भारतविरुद्ध अनिवार्य जितको खोजीमा हुनेछ । यद्यपि भारतलाई हराएर सेमिफाइनलको यात्रा गर्न अस्ट्रेलियालाई सहज छैन । जारी विश्वकपमा भारत अपराजित छ । र, टी–२० आई हेड टु हेडमा पनि भारतसँग अस्ट्रेलियाको विगत नतिजा त्यति राम्रो छैन । 

हालसम्म भारत र अस्ट्रेलियाले टी–२० विश्वकपमा पाँच खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले तीन र अस्ट्रेलियाले दुई खेलमा जित निकालेको विगत छ ।

समग्र टी–२० आई हेड टु हेडमा पनि अस्ट्रेलियाविरुद्ध भारत हाबी छ । उसले हालसम्म अस्ट्रेलियासँग ३१ टी–२० आई खेलेको छ, जसमा भारतले १९ र अस्ट्रेलियाले ११ खेल जितेको छ ।

यस्तै, यी दुई टिमले टी–२० विश्वकपमा भारत र अस्ट्रेलियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भारतले तीन र अस्ट्रेलियाले दुई खेलमा जित निकालेको विगत छ ।

  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया