logo-img

‘एक सय १३ देशमा कुनै पनि महिला राष्ट्र प्रमुख भएका छैनन्’

विश्वभरका एक सय १३ देशमा कहिल्यै पनि राज्य वा सरकारको प्रमुखका रूपमा महिलाले काम गरेका छैनन् । 

हालसम्म २६ देशमा मात्र महिलाको नेतृत्व रहेको सोमबार प्रकाशित महिला राजनीतिक नेत्रीहरूको युएन वुमन विश्वव्यापी तथ्यांक २०२४ ले देखाएको छ । 

प्रगतिका बाबजुद महिलाहरू अझै पनि सत्ता र कूटनीतिक पदबाट ‘धेरै हदसम्म बहिष्कृत’ रहेको र प्रभाव तथा निर्णय लिने उच्चतम स्तरमा पुरुषहरूको कब्जा रहेको युएन वुमनले प्रेस विज्ञप्तिमा जनाएको छ ।  

विज्ञप्तिअनुसार विश्वव्यापी रूपमा निर्णय प्रक्रियामा महिलाहरूको कम प्रतिनिधित्व ‘कठोर वास्तविकता’ बनेको छ । नेतृत्व पदहरूमा लैंगिक समानतासम्बन्धी युएन वुमनको नयाँ तथ्यांक त्यतिबेला प्रकाशित भएको छ जतिबेला महिलाहरूले कसरी अवरोधहरू तोडिरहेका छन् र कूटनीतिमा भिन्नता ल्याइरहेका छन् भनेर पहिचान गर्न जुन २४ मा विश्वले कूटनीतिमा महिलाका लागि अन्तर्राष्ट्रिय दिवस मनाउँदै छ । 

सन् २०२४ जनवरी १ सम्म मन्त्री पदहरूमा २३ प्रतिशत मात्र महिला रहेका छन् र एक सय ४१ देशमा क्याबिनेट मन्त्रीहरूमा एक तिहाइभन्दा कम महिला रहेका छन् । सात देशको मन्त्रिपरिषद्मा कुनै पनि महिलाको प्रतिनिधित्व छैन ।

कूटनीति र वैदेशिक मामिलामा पुरुषको प्रभुत्व राष्ट्रसंघका स्थायी नियोगहरूमा फैलिएको छ । यहाँ महिलाहरूलाई स्थायी प्रतिनिधिका रूपमा कम प्रतिनिधित्व प्राप्त भएको छ । सन् २०२४ मेसम्ममा न्युयोर्कमा २५ प्रतिशत, जेनेभामा ३५ प्रतिशत र भियनामा ३३ दशमलव पाँच प्रतिशत स्थायी प्रतिनिधिमा महिला थिए । 



‘हाम्रो काम विश्वासद्वारा निर्देशित छ । जब महिलाहरूले नेतृत्व गर्छन्, संसार सबै मानिसहरू र पृथ्वीका लागि राम्रो हुन्छ । यस वर्ष धेरै देश चुनावमा जान्छन्, हामी सबैले महिलाहरूलाई पहिलो स्थानमा राख्नुपर्छ । सबैको जीवनमा सुधार ल्याउनका लागि शासन र नेतृत्वमा महिलाको समान सहभागिता सबैभन्दा महत्त्वपूर्ण छ,’ युएन वुमनका कार्यकारी निर्देशक सिमा बाहौसले भनिन् । 

विज्ञप्तिमा नेतृत्वको पदमा महिलाको चयन र नियुक्तिले ‘लैंगिक समानताका लागि बलियो राजनीतिक इच्छाशक्तिको संकेत गर्दछ’ र आज विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न सामूहिक प्रतिबद्धता देखाउँछ भनिएको छ ।



‘महिला अधिकारलाई अगाडि बढाउनका लागि विश्वको सबैभन्दा प्रगतिशील खाका, बेइजिङ घोषणापत्र र कार्यका लागि प्लेटफर्म पारित भएको ३० वर्ष पूरा भएको हामीले तयारी गरिरहेका छौँ । युएन वुमनले महिलाहरूको नेतृत्व गर्न र सकरात्मक परिवर्तनलाई अगाडि बढाउने कामलाई सुनिश्चित गर्न निरन्तर काम गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

सन् १९९५ मा बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनले बेइजिङ घोषणा र कार्यका लागि मञ्च अपनाएको थियो ।

  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया