logo-img

अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया सुपर-८ बाटै बाहिरियो

अफगानिस्तान नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर–८ अन्तर्गत आज बिहान सम्पन्न खेलमा बंगलादेशलाई डकवर्थ लुइस पद्धतिअनुसार ८ रनले हराउँदै अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

ऊ समूह ‘ए’ उपविजेताको हैसियतामा सेमिफाइनल पुग्यो । अफगानिस्तान सेमिफाइनल पुगेपछि अस्ट्रेलिया भने सुपर–८ बाटै घर फर्किने भएको छ । 

यदि आजको खेलमा अफगानिस्तान पराजित भएको भए अस्ट्रेलिया नेट रन रेटमा माथि रहेको फाइदा उठाउँदै सेमिफाइनल पुग्थ्यो । तर, अफगानिस्तानले सानदार बलिङ गर्दै इतिहास रच्यो । 

बंगलादेश भने ११४ रनको लक्ष्य पूरा गर्न सकेन । वर्षाका कारण डकवर्थ लुइस पद्धतिअनुसार उसले खेल जित्नका लागि १९ ओभरमा ११४ रन बनाउन आवश्यक थियो । तर, बंगलादेश १७.५ ओभरमा १०५ रनमै अलआउट भयो । 

उसका लागि ओपनर लिटनकुमार दासले ४९ बलमा पाँच चौका र एक छक्कासहित अविजित ५४ रन बनाए । यस्तै, तौहिद हृदय र सौम्य सरकारले १० रन बनाए ।

अफगानिस्तानका लागि नवीन उलहक र राशिद खानले चार/चार, गलबदिन नायब र फजलहक फारुकीले एक/एक विकेट लिए । त्यसअघि  सेन्ट भिन्सेन्टस्थित अर्नोस भेल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनायो । 



उसका लागि रहमानउल्लाह गुरबाजले ५५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, कप्तान राशिद खानले १० बलमा तीन छक्काको मद्दतमा अविजित १९ रनको आक्रामक पारी खेले । 

उनकै उत्कृष्ट फिनिसिङको मद्दतमा अफगानिस्तान ११५ रनको जोड्न सफल भयो । त्यस्तै, इब्राहिम जाद्रानले १८ र अजमातुल्लाह उमरजाईले १० रन जोडे । बंगलादेशका लागि रिशाद होसेनले तीन, मुस्तफिजुर रहमान र तस्किन अहमदले एक/एक विकेट लिए ।



  • प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया