पोखरा– गण्डकी प्रदेशसभाको आजको बैठकले ‘सूर्ती तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्यो ।
लामो छलफलपछि सर्वसम्मतिले पारित विधेयकमा कुनै पनि सुर्तीजन्य पदार्थ कसैलाई सित्तैमा दिन वा उपहारको रुपमा वितरण गर्न नपाइने व्यवस्था छ । फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री गर्न पनि पाइनेछैन । यसो गरे १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकले गरेको छ ।
विधेयकको दफा १० मा सूर्तीजन्य पदार्थको उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट यसको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने व्यवस्था छ । यसलाई उल्लंघन गरे १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
विधेयकले १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाएको छ । उमेरमा शंका लागे विक्रेताले खरिदकर्तासँग उमेर खुलेको प्रमाणपत्र माग्न सक्नेछ ।
विधेयकले सूर्तीजन्य पदार्थको प्याकेटमा कम्तीमा ९० प्रतिशत भाग चेतावनीमूलक सन्देशले भर्नुपर्ने व्यवस्था गरेको छ । संघीय ऐनमा यस्तो सन्देश कम्तीमा ७५ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।