१३ र १४ गते भृकुटीमण्डपमा हुँदै छ 'आन्तरिक पर्यटन मेला'

काठमाडौं– ‘पहिले देश अनि विदेश’ भन्ने नाराका साथ १३ र १४ वैशाखमा काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला हुँदै छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले गर्न लागेको मेलाको मूल उद्देश्य पर्यटनबारे देशव्यापी जनचेतना फैलाई आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु हो । 

निजी क्षेत्रको तर्फबाट पहिलोपल्ट हुन लागेको मेलालाई २ लाख ५० हजारजनाले अवलोकन गर्ने आयोजक गन्तव्य नेपालको अनुमान छ । 

डोमेस्टिक टुरिजम मार्ट–२०१९ नाम दिइएको मेलामा पर्यटनसम्बद्ध २२५ व्यावसायिक संघसंस्था तथा व्यवसायीका स्टल रहनेछन् ।  

मेलामा व्यापारिक मात्र नभई ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यबारे जानकारीमूलक स्टल रहनेछन् । हस्तकला समग्री, र्फ्टिङ, बन्जी जम्प, केवलकार, टुरिजम शैक्षिक कलेज, पर्यटन यातायात, प्याराग्लाइडिङ, सातै प्रदेशका विभिन्न समुदायका परिकारसहित ठाउँ–ठाउँका होटल–रेस्टुरेन्टका स्टल रहने आयोजक गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

मेलामा राष्ट्रिय कला–संस्कृतिको प्रदर्शनीसमेत हुनेछ । विभिन्न जातजातिको संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिने आयोजकले बताएको छ । साथमा, विभिन्न कलाकारका लोकदोहोरीलगायत सांस्कृतिक प्रस्तुति रहनेछन् ।

मेलाको उद्घाटन वैशाख १३ गते बिहान ११ बजे गर्ने कार्यक्रम छ । मेला अवलाेकनकर्ताका लागि कुनै प्रवेश शुल्क लाग्नेछैन । 



सरकारको २०२० मा २० लाख पर्यटक भित्राउने योजनामा मेला सहयोगी हुने विश्वास लिएको गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी बताउँछन् । उनकै शब्दमा यो पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोड्ने माध्यम पनि बन्नेछ । सबै सरोकारवालालाई समेटेर अघि बढेकाले आफ्नाे उद्देश्यमा मेला सफल हुने उनको विश्वास छ ।  

‘नेपाल भ्रमण वर्ष २०२० को भिजन सफल पार्नकै लागि हामीले मेला आयोजना गरेका हौँ,’ फरकधारसँग कुरा गर्दै अध्यक्ष अधिकारीले भने, ‘सबै सरोकारवाला व्यक्ति, निकाय तथा संघसंस्थालाई समेटेर अघि बढ्दै छौँ ।’ मेलाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । 



  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार ११:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया