के अब टुटलले तीन करोड कर तिर्ला ?
टुटलका सिइओ भन्छन्– कम्पनी नै तीन करोडको छैन, कसरी तिर्ने ?

काठमाडौं– मोटरसाइकलमा ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख रुपैयाँ कर तिर्नुपर्ने आन्तरिक राजश्व कार्यालय ललितपुरले निष्कर्ष निकालेपछि यसबारेको बहस व्यापक भएको छ । 

यसअघि मोटरसाइकलमा काठमाडौंमा सेवा दिने यो सेवामाथि पनि प्रश्न उठ्दै आएको थियो । आन्तरिक राजश्व कार्यालय ललितपुरले तीन महिना फाइल अध्ययन गर्दै टुटलले कर छलीको गरेको निष्कर्षमात्र निकालेन, ब्याज र जरिवानासहित ३ करोड ४० लाख तिर्नु पर्ने निष्कर्ष निकाल्यो । 

साढे दुई वर्षअघि सुरु भएको टुटलले दुईपांग्रे सवारी चालक र उपभोक्ताबीच मध्यस्थता गर्दै सेवा दिन सुरु गरेको थियो । 

टुटलका सिइओ शिक्षित भट्टका अनुसार अहिले टुटलमा १० हजार भन्दा धेरै मोटरसाइकल धनी आवद्ध भएका छन् । 

हामीले शिक्षितलाई प्रश्न गर्यौँ, निर्धारण भएको कर तिर्ने अवस्थामा टुटल छ कि छैन, अब तिर्नुहुन्छ होला नि ? 

उनले भने, ‘हामी यो विषयमा अहिले छलफल गरिरहेका छौँ । नीति नभएकाले हामी समस्यामा परेका छौँ, हाम्रो बुझाइ चाहिँ हामीलाई रेभिन्युमा मात्र ट्याक्स लगाउनु पर्छ भन्ने हो । तर, अहिले निर्धारण भएको कर चाहिँ ओभरअल कारोबारमा नै भयो ।’



यसले आफूहरुलाई ठूलो कम्पनी जस्तो देखाएको तर यही कुराले यो समयमा आफूहरुले गरेको मिहिनेत र समयमाथि बज्रपात भएको उनले बताए । 

‘हाम्रो त सानो स्टार्ट अप कम्पनी हो,’ उनले भने, ‘न आजसम्म हामीले त्यति पूँजी लगानी गरेका छौँ, न हामीले त्यति पैसा कमाएका छौँ ।’ 



त्यसैले ललितपुरको कर कार्यालयको निर्णयलाई लिएर उनीहरु आन्तरिक राजश्व विभाग जाने निर्णयमा पुगेका छन् । 

टुटलले पछिल्लो समय सरकारले लिएका नीतिहरुलाई आत्मसात् गरेको बजारमा १० हजारभन्दा धेरै रोजगारी सिर्जना गरेकाले यस्ता स्टार्ट कम्पनीमाथि सरकार गम्भीर हुनु पर्ने र केही गर्न खोज्ने युवाहरुलाई सहज वातावरण हुनु पर्ने शिक्षितको निष्कर्ष छ । 

‘हामीले न त्यस्तो ठूलो काम गरेका हौँ, न ठूलो लगानी नै गरेका हौँ,’ शिक्षितले भने, ‘हामीले त समाजमा रोजगारी सिर्जना गर्यौँ र नयाँ केही गरौँ न त भन्दा ठूलो पनिसमेन्ट पायौँ ।’

यो सब हुनुमा पोलिसी लेभलमा ग्याप हुनुलाई दोषी मान्छन् शिक्षित् । उनले इन्डोनेसियाको गो जेट भन्ने कम्पनीको प्रसङ्ग निकाल्दै भने, ‘त्यो कम्पनीले इन्डोनेसियाको अर्थतन्त्रमा ३.५ बिलियन डलर योगदान गरेको रहेछ, हामीले पनि थोरै भए पनि गरेका छौँ । यसलाई महत्वपूर्ण रुपमा हेर्नु पर्ने हो कि ?’

सरकारले रोजगारी सिर्जना गर्ने, कामप्रति सम्मान बढाउने र सबैको बैंकसँग एक्सेस बढाउने नीति लिएको र आफूहरुले त्यही काम गरिरहेको उनी दाबी गर्छन् ।

  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १७:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया