महिलाप्रति अनुदार नेकपाः ७७ जिल्लामा १५४ जना नेतृत्व छान्दा ४ जनामात्र महिला

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार भव्य कार्यक्रम गरेर पार्टीको जिल्ला तहको सांगठनिक एकता टुङ्ग्यायो । ७७ जिल्लाका अध्यक्ष र सचिव गरि नेकपाले १५४ जना नेतृत्वको नाम घोषणा गर्यो ।

तर, नेकपाले १५४ जनामा जम्मा ४ महिलालाई मात्र नेतृत्व दियो । यीमध्ये तीन जिल्ला अध्यक्ष हुन् भने १ जना सचिव । प्रतिशतमा हिसाब गर्ने हो भने यो जम्मा १.५४ प्रतिशत मात्र हो । 

महिला सहभागिता कम्तिमा पनि ३३ प्रतिशत हुनु पर्ने माग भइरहेका बेला देशकै ठूलो पार्टी नेकपाले महिला नेतृत्वप्रति गरेको यो अविश्वासलाई सामाजिक सन्जालमा निकै कडा आलोचना गरिएको छ ।

नेकपाले नेतृत्व दिन पत्याएका तीन जिल्ला हुन्– मकवानपुर, काभ्रे र लमजुङ । प्रदेश नम्बर ३ को मकवानपुरमा साविक एमाले अध्यक्ष मनु सिग्देल नेकपाको जिल्ला अध्यक्ष बनेकी छिन् । उनी प्रदेश ३ की सांसद् पनि हुन् । उनका पति विरोध खतिवडा केन्द्रीय सांसद् हुन् । 

काभ्रेमा चाहिँ पूर्वमाओवादीकी जिल्ला संयोजकी रुकु चौलागाईंलाई नेकपाले अध्यक्ष बनाएको छ । त्यस्तै, गण्डकी प्रदेशमा लमजुङबाट मधु अधिकारी अध्यक्षमा छानिएकी छिन् । पूर्वमाओवादी अधिकारी गण्डकी प्रदेशकी सांसद् पनि हुन् । 

नेकपाले ७७ जिल्लाका सचिव छान्दा एक जना महिलालाई मात्र योग्य देख्यो । ती हुन्– इलामकी सोममाया राई । 



बिर्सनु हुँदैन नेकपाकाे केन्द्रीय सदस्यमा पनि ३३ प्रतिशत महिला पुगेका छैनन् । तर, हरेक पार्टीकाे केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनु पर्ने कानुनी व्यवस्था छ ।




  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार २१:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया