पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोका कारण निम्तिएको दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा दुई यात्रुवाहक बसलाई पहिरोले बगाउँदा करिब पाँच दर्जन यात्रु बेपत्ता तथा कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्युको घटनाप्रति दुःख व्यक्त गरेकी हुन् ।
‘यस वर्षको मनसुन सुरु भएयता ओखलढुङ्गा, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा, काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रुकुम पश्चिम, बैतडीलगायत देशका विभिन्न स्थानमा भएका बाढी–पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु’, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन् ।
उनले बेपत्ता यात्रुको यथाशीघ्र खोजी तथा उद्धार एवं घाइतेको उपचारका साथै मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि गरिने पूर्वतयारीका साथै राहत एवं उद्धारमा जुट्न आग्रह गरेकी छन् ।
‘वैज्ञानिक–प्राविधिक अध्ययनका आधारमा जोखिम विश्लेषण गरी त्यस्तो स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समावेश गर्न सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दछु’, सन्देशमा उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारीले बाढीपहिरो र डुबानजस्ता प्राकृतिक विपदबाट सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।