logo-img

कोपा फाइनलमा अर्जेन्टिना र कोलोम्बिया भिड्दै, मेस्सीलाई उपाधिमा ‘ह्याट्रिक’ गर्ने मौका
कोलोम्बियालाई उपाधि खडेरी तोड्ने अवसर

४८औँ संस्करणको कोपा अमेरिका फुटबलको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र कोलोम्बिया खेल्ने तालिका छ । यी दुई टिमबीचको फाइनल खेल सोमबार बिहान ५ः४५ देखि अमेरिकाको हार्डरक स्टेडियममा सुरु हुनेछ ।

लिओनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २–० तथा कोलोम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलको टिकट पक्का गरेका थिए । अब यी दुई टिम फाइनल पनि जित्दै कोपा ट्रफी चुम्न चाहन्छन् । 

हालसम्म अर्जेन्टिनाले २९ पटक कोपा फाइनलमा स्थान बनाउँदा १५ पटक उपाधि जितेको छ । उसले गत संस्करणमा ब्राजिललाई १–० ले हराउँदै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा उरुग्वेको रेकर्ड बराबर गरेको थियो ।



यसपालि अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै १६औँ पटक उपाधि जित्ने लक्ष्यमा छ । उसले सन् २०२१ यता लगातार महत्वपूर्ण दुई ठूला प्रतियोगिताको उपाधि जितेको छ । सन् २०२२ को विश्वकप च्याम्पियन अर्जेन्टिना सोमबार कोपा फाइनलमा कोलोम्बियालाई हराउँदै ठूलो प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्न चाहन्छ । ऊ जारी प्रतियोगितामा अपराजित छ ।



यस्तै, २३ वर्षपछि कोपा फाइनल खेलिरहेका कोलोम्बिया पनि उच्च लयमा छ । उसले पछिल्लो २८ खेलयता हारको सामना गरेको छैन । सन् २००१ को कोपा च्याम्पियन कोलोम्बिया यसपटक अर्जेन्टिनालाई पनि हराएर वर्षौँदेखिको उपाधि खडेरी तोड्ने अभियानमा छ ।

हालसम्म अर्जेन्टिना र कोलोम्बियाले ४३ अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन्, जसमा अर्जेन्टिनाले २६ खेल जितेको छ । यस्तै, कोलोम्बियासँग अर्जेन्टिना ९ खेलमा पराजित भएको विगत छ । यी दुई टिमले ८ खेल भने ड्र खेलेका छन् ।



अर्जेन्टिना र कोलोम्बियाले पछिल्लोपटक सन् २०२२ को फिफा विश्वकप छनोटमा एकअर्काविरुद्ध खेलेका थिए, उक्त खेलमा अर्जेन्टिना १–० ले विजयी भयो । 

यस्तै, कोलोम्बियाले अर्जेन्टिनालाई अन्तिमपटक सन् २०१९ को कोपा अमेरिकामा हराएको थियो । उक्त खेलमा अर्जेन्टिनाविरुद्ध कोलोम्बियाले २–० को जित निकाल्यो ।

ऊ अब पाँच वर्षअघिको उक्त नतिजा दोहोर्याउँदै दोस्रोपटक कोपा च्याम्पियन बन्न चाहन्छ । यता अर्जेन्टिना ४६औँ संस्करणको हारको बदला लिँदै लगातार दोस्रो तथा समग्रमा १६औँपटक उपाधि जित्ने लक्ष्यमा छ ।  

  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया